म्याग्दीको मंगला गाउँपालिका-२,बावियाचौरमा अवस्थित मंगला माध्यामिक विद्यालयमा अध्ययरत विद्यार्थी अहिले नियमित खेतबारीमा भेटिन्छन् । विद्यालयमा प्राविधिक धार अन्तरगत बाली विज्ञान विषयमा पढाइ सुरू भएपछि विद्यार्थीले पाठ्यक्रमसँगै नर्सरी, टनेलभित्र काम गरिरहेको देखिन्छ ।

कृषिपेशामा आवद्ध आमाबुबालाई समेत खेतीपातीमा सघाउन हिचकिचाउने विद्यार्थीले टनेलभित्र च्याउ फलाउने देखि ड्रागन फल, बेमौसमी तरकारी खेती गरी बिक्री समेत गर्न थालेका छन् ।

मंगला माविमा कक्षा १२ मा अध्ययनरत छात्रा बर्षा बानियाँ र कक्षा ९ की मुना बानियाँले तरकारी, फलफूल च्याउ उत्पादनका बारेमा प्रयोगात्मक अभ्यासबाट सिक्ने अवसर पाइन् । कक्षा कोठाबाहेक खेतबारीमा समेत पुगेर कृषिसम्बन्धि जानकारी पाएका विद्यार्थीले अहिले घरमा समेत कृषिजन्य बस्तुको उत्पादमा तल्लीन छन् ।

विद्यालयमा च्याउ,तरकारी र ड्रागन खेतीमा सक्रिय छन्। घरमा खेती किसानी नगरेका विद्यार्थीले बालीविज्ञान पढ्न थालेपछि अहिले विद्यालयले भाडामा लिएको २ रोपनी जग्गामा ब्यवसायीक तरकारी खेती गरिएको छ । विद्यार्थीको सक्रियतामा बावियाचौर बजारमा पहिलोपटक गरिएको च्याउ खेती सफल भएको छ । यसपटक एउटै टनेलबाट विद्यार्थीले २० केजीभन्दा बढी बिक्री समेत गरिसकेका छन् ।

विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर लगायतका कृषि उपजका बारेमा अभिभावकलाई समेत सिकाउने गरेका छन् । बाली विज्ञानले परम्परागत खेती गर्ने गाउँघरका अभिभावकलाई नयाँ प्रविधि प्रयोग गरेर आधुनिक खेती गर्न सिकाउन समेत सहज भएको छ ।

उत्पादन गरेको च्याउ लिन ग्राहक बारीमै पुग्न थालेपछि टनेल थपेर बाह्ै महिना च्याउ उत्पादन गर्ने योजना बनाएको छ । पढ्दै, सिक्दै, कमाउँदै गर्ने योजनामा रहेका विद्यार्थीले फुर्सदको समयमा घरमा समेत खेतीपातीमा ब्यस्त हुने गरेको विद्यालयका प्रधानध्यापक गम केसीले बताए ।

२ रोपनी जमिनमा हुने खर्च कटाएर आम्दानी सबै विद्यार्थीलाई उपलब्ध गराउने विद्यालयले जनाएको छ । बाली विज्ञान विषय पढ्ने विद्यार्थीले भविस्यमा कृषि क्षेत्रमै सक्रिय हुने योजना बनाएका छन् । कृषि उत्पादन र आम्दानीका बारेमा बुझेका अभिभावकले समेत विद्यार्थीलाई हौसला दिन थालेपछि आगामी शैक्षिक सत्रमा विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ ।

विद्यार्थीले मौसम अनुकुलको उत्पादन गर्न सक्ने गरी बाली विज्ञान विषयका संयोजक विवेक किरण सापकोटा, शिक्षक करण कँडेल, दिपा केसी लगायतले प्रयोगात्मक अभ्यासलाई पाठ्यपुस्तक सरह समय विभाजन गरेपछि विद्यार्थीलाई सहज भएको छ।

विद्यार्थीले विषादीरहित उत्पादन गर्ने गरेका छन् । मल बोक्ने, बारी खनजोत, गोडमेल, नियमि हेरचाह गर्ने विद्यार्थीले तालिका नै बनाएका छन् ।

यस विद्यालयमा प्राविधिक धारतर्फ विसं २०७६ देखि कक्षा नौदेखि १२ सम्म बाली विज्ञान विषयको पढाइ हुँदै आएको छ । हाल ४४ जना विद्यार्थीले बालि विज्ञान विषय रोजेका छन् । बाली विज्ञान विषयकोका लागि छुट्टै प्रयोगशालासमेत विद्यालयले स्थापना गरेको छ ।

माटो परीक्षण, बीउ उत्पादनलगायत विषय प्रयोगशालामा विद्यार्थीलाई सिकाउने गरिएको छ । विद्यालयका विद्यार्थीले अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यालयमा आफुँले उत्पादन गरेको कृषिउपजको प्रर्दशनी समेत गर्ने गरेका छन् ।

 

Leave a Reply