नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई देशमा सहज रुपले लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको बेनीमा ३०औं साधारणसभा एवं १२औं अधिवेशन तथा स्मारिका विमोचन कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले राजनीतिक दल र सांसदहरुप्रति लक्षित गर्दै भाषण गर्दैमा विदेश पलायन र देशमा रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । उनले वैदेशिक लगानी आउन सक्ने सम्भावना रहेका देशहरूसँगको लगानी प्रोत्साहन गर्ने, लगानी भित्रिएपछि तीनै तहको सरकारले सहयोग गर्ने, लगानी गरिने क्षेत्रमा अवरोध नगर्ने, आवश्यक ऐन कानुनहरु सच्याउनुपर्ने बताएका छन् ।

विदेश पलायन रोक्न ठोस योजना बनाउने र स्वदेशमै रोजगारीको वातावरण बनाउने भन्दै भाषण मात्रै गर्ने गरिएको बताउँदै अध्यक्ष ढकालले भने, ‘तीनै तहको सरकारमा कानुन र व्यवहारमा एकरुपता देखिदैन । कानुनी प्रक्रियामै अल्झिएर लगानीकर्ता निराश हुनुपर्ने अवस्था छ । उनले समृद्ध नेपाल बनाउने अभियानमा निजी क्षेत्रको प्रयासमा विभिन्न देशमा लगानी सम्मेलन गरिएको बताउँदै निजी क्षेत्र लगानी गर्न आउँदा सुरूवातमा लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताए ।

अध्यक्ष ढकाले हरेक जिल्लाबाट सानो–सानो लगानी सङ्कलन गरी परियोजनाहरूमा लगानी गर्न सकिने बताउँदै निजी क्षेत्रसँग भएका प्रोजेक्टहरू पूर्वाधार, जलविद्युत लगायतका प्रोजेक्टहरूमा लगानीको वातावरण रहेको बताएका छन् । कोरोनाकालको असर, आर्थिक मन्दीका कारण मुलुकको अर्थतन्त्रमा केही समस्या भए पनि निजी क्षेत्रले निराशाजनक सन्देश प्रवाह गर्न नहुने बताए ।

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको एक अभिन्न अङ्ग भएको बताउँदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदानका विषयमा केन्द्रित भएको बताए । केही वर्षयता विभिन्न कारण निजी क्षेत्रले सहज रुपमा काम गर्न नपाउँदा उद्योग, व्यवसाय विस्तार हुन नसक्नुका साथै भएका उद्योगहरु पूर्ण रुपमा सञ्चालन हुन नसकेको अवस्थाको बारेमा तीनै तहका सरकारसँग निरन्तर संवादमा रहेको उनको भनाइ छ ।

कामको खोजीमा रहेका युवाहरु र काम गर्ने जनशक्ति खोजीरहेका उद्योग, व्यावसायिक कम्पनीहरुलाई प्रोत्साहन गर्ने गरी बैंकको व्याजदर घटाउनेदेखि लगानीमैत्री वातावरण बनाइरहेको अध्यक्ष ढकालले बताए । उनले व्यवसायी र आम उपभोक्ताको मनोबल बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन राज्यका निकायहरुले अनावश्यक झमेला निकाल्न नहुने सुझाव समेत दिएका छन् ।

सोही कार्यक्रममा संविधानसभा सदस्य नवराज शर्माले म्याग्दी कृषि, पर्यटन र जलविद्युतको प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले यसतर्फ लगानी गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । अर्का संविधानसभा सदस्य गोविन्द पौडेलले राष्ट्रले लिएको लक्ष्यलाई आत्मसाथ गरेर अगाडि बढेमा देश विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यद्वय बिमला गौचन, हरि भण्डारी, नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, गण्डकी प्रदेश अध्यक्ष अमित भट्टचन, केन्द्रीय सदस्य जीवनज्योती श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमकुमार कर्माचार्य, महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठ, उद्योग वाणिज्य संघ धौलागिरि बजार बजार इकाई अध्यक्ष तेजेन्द्र थापा, बेनी नगरपालिका–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभा तथा अधिवेशनको उद्घाटनसत्र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता एवं स्वागत, महासचिव अमित बानियाँको सञ्चालन र वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो । साधारणसभाको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले प्रकाशन गरेको स्मारिका–२०८० सातौं संस्करणको विमोचन समेत गरिएको थियो भने पत्रकार, उद्यमी र विद्यार्थीलाई सम्मान तथा वस्तुगतको साथै आजीवन सदस्यता वितरण गरिएको थियो ।

 

 

 

 

 

Leave a Reply