शनिवारदेखि मौसममा आएको परिवर्तनले मुस्ताङमा पनि हिमपात भएपछि जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ । जोमसोम–कोरला सडकखण्डअन्तर्गत छुसाङदेखि माथि सडकमा बाक्लो हिउँ जमेका कारण उपल्लो मुस्ताङ जाने सवारीसाधन बीच बाटोबाटै फर्किएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

हिमपातको कारण सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङका लागि छुटेका सवारीसाधन छुसाङदेखि माथि जान नसकेको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङ जाने सवारीसाधनहरु केही छुसाङमै रोकिएका छन्भने कतिपय सवारीसाधन मुक्तिनाथ र जोमसोमतर्फ फर्किएका छन् । यसैगरी मुक्तिनाथको झारकोटमा पनि हिउँ जमेको हुँदा ठूला गाडी मुक्तिनाथ जान सकेका छैनन् ।

मुस्ताङको छुसाङदेखि माथि सडकमा १ फिटसम्म हिउँ जमेको प्रहरीले जनाएको छ । अहिले मुस्ताङको लोमान्थाङ, मुक्तिनाथ, छोसेर, चराङ, घमी र सुर्खाङलगायत क्षेत्रमा हिउँ परिरहेको छ । हिमपातपछि मुस्ताङका डाँडाकाँडाहरु सेताम्य देखिएका छन् । हिउँ परेपछि मुस्ताङमा अत्यधिक चिसो समेत बढेको छ भने चिसोबाट बच्न सर्वसाधारणहरुलाई अनुरोध गरिएको छ । मुस्ताङको तापक्रम क्रमशः माइनसतर्फ झरिरहेको छ ।

यसैबीच वर्षा र हिमपातकै कारणले गर्दा जोमसोम विमानस्थलबाट जोमसोम–पोखरा हवाई उडान पनि अवरुद्ध भएको छ । गएको मंसिर तेस्रो सातादेखि बन्द भएको हवाई सेवा अस्ति (शुक्रवार)देखि पुनः सुचारु भएकोमा मौसममा आएको फेरबदलको कारण शनिवारदेखि अवरुद्ध बनेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो । हवाई उडान बन्द हुनुका साथै लोमान्थाङ जाने सडक अवरुद्ध बनेपछि पर्यटकलाई सास्ती भएको छ ।

Leave a Reply