म्याग्दी जिल्लाबाट चालु आर्थिक वर्ष २०८०/०८१ मा २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार यस वर्ष म्याग्दीमा सात सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनयोग्य भूमि रहेको भए पनि चार सय हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला लगाइको थियो ।

उक्त क्षेत्रफलमा यस वर्ष तीन हजार छ सय मेट्रिक टन सुन्तला फल्दा न्यूनतम मूल्य प्रतिकिलो रु ५५ का दरले विक्री गर्दा पनि कृषकहरूले १९ करोड, ८० लाख रुपैयाँ आम्दानी गरेका छन्। यहाँ उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै पोखरा,काठमाडौँ,चितवन, मुग्लिनल गायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

केन्द्रका प्रमुख सञ्जीव वास्तोलाले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको र यस वर्ष सबैभन्दा बढी बेनी नगरपालिका वडा नं ३ भकिम्लीबाट निकासी भएको जानकारी दिए । ‘सरदर प्रतिकिलो रु ५५ का दरले विक्री गर्दा पनि रु १९ करोड ८० लाख भन्दा बढी आम्दानी भएको देखिन्छ’ केन्द्र प्रमुख वास्तोलाले भने ‘प्रतिकिलो रु ६०÷६५ सम्ममा पनि कृषकहरुले विक्री गर्नुभएको छ,यस हिसाबले रु २० करोड बढी मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौँ’,उनले भने ।

अनुकूल मौसम र रोग किराको समस्या नभएको तथा फल दिने बोटसँगै उत्पादन पनि बढेको उनको भनाइ छ । जिल्लाको भकिम्ली,राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दाबढी सुन्तला बगैँचा रहेका कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । सात सय ५५ हेक्टरमा सुन्तला जात फलफूलको खेती हुने भए पनि यस वर्ष करिव चार सय हेक्टरमा मात्रै सुन्तला उत्पादन भएको कृषि केन्द्र प्रमुख वास्तोलाले बताए ।

कृषि ज्ञानकेन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए । कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सम्झना शर्माले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताइन् । केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा रु १३ करोड जिल्लामा भित्रिएको थियो भने गत आर्थिक वर्ष २०७९/०८० मा करिब तीन हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदा रु १९ करोड बढी आम्दानी भएको थियो ।

यस वर्ष मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो । सुन्तला बेचे पछि बगैंचा सरसफाइमा व्यस्त किसान सुन्तला टिपेर बजार पठाएपछि कृषक बगैँचा व्यवस्थापनको तयारीमा जुटेका छन् । मल हाल्ने, सिँचाइ गर्ने, मल्चिङ गर्ने, बोडोपेस्ट लगाउने र हाँगा काँटछाँट गर्ने काममा व्यस्त भएको कृषकले बताएका छन् । यस यामको सुन्तला विक्री गरेर सकिएका र हुर्कदै गरेका सुन्तलाका विरुवाहरुको काँटछाट र मलजल गरी बगैँचा व्यवस्थापन गर्न यहाँका कृषकहरु जुटेका हुन् । कृषि प्राविधिक सुन्तला बगैंचामा नै पुगेर बगैंचाको व्यवस्थापन गर्न किसानलाई सिकाइरहेको मंगला गाउँपालिकाका कृष प्राविधिक जगत बानियाँले जानकारी दिए ।

जिल्लका बेनी नगरपालिका सहित मंगला,मालिका र अन्नपूर्ण गाउँपालिकाका कृषकहरु अहिले सुन्तलाको बगैंचा व्यवस्थापनका लागेका कृषि ज्ञान कार्यालय म्याग्दीले जनाएको छ । यसैक्रममा मंगला गाउँपालिकाको चारओटा वडा र लरेनीमा व्यवसायिक सुन्तला कृषकहरुको बगैंचामा नै पुगेर बगैंचा व्यवस्थापन सम्वन्धि तालिम दिइएको कृषि प्राविधिक बानियाँले जानकारी दिए । उता सुन्तलाको पकेट क्षेत्र मानिएको बेनी नगरपालिकाको वास्कुना र अन्नपूर्णको दोसल्लेका कृषकहरु पनि सुन्तला विक्री गरिसकेपछि अहिले बगैंचा व्यवस्थापनमा व्यस्त छन् । ‘सुन्तला टिपेर सकेका कृषकहरुको बगैंचामा गएर बगैंचा व्यवस्थापनको तालिम दिँदै छौँ,तालिममा बगैंचाको काँटछाँट,मलजल गर्ने तरिकादेखि लिएर बोडोपेष्ट र बोडोमिश्रमण बनाउने तथा लगाउने तरिका सिकाउँछौं’ कृषि प्राविधिक बानियाँले भने ।

जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन घटेको छ । साविकका बोटबाट उत्पादन घटेको भए पनि नयाँ बोटमा फल लागेकोले कृषकको आम्दानीमा भने धेरै फरक नपरको कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले जनाएको छ । सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले फूल खेल्ने र बतिला लाग्ने समयमा बेमौसमी वर्षा, असिनापानी र रोगकीराको समस्याका कारण सुन्तला उत्पादन घटेको बताए । जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रुपमा सुन्तलालाई लिने गरिन्छ ।

म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् । यी बगैंचाहरुको व्यवस्थापन र सरसफाइको काम सुरु भएको अधिकृत वस्यालले बताए । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारीहरुले किसानका बगैंचामा नै पुगेर सुन्तला खरिद गरेका छन् । प्राविधिकसहितको टोलीले अहिले किसानलाई सुन्तलाको बगैँचा व्यवस्थापन गर्ने तरिका सिकाइ रहेको सुन्तला जोनका अधिकृत बस्यालले जानकारी दिनुभयो ।

Leave a Reply