समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालामा बिकास तथा समृद्धिको लहर आएको नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्र थापाले बताउनुभएको छ ।
नेकपा एमाले मालिका गाउँपालिका कमिटिको दोश्रो अधिवेशनको उद्घाटनमा बोल्दै प्रतिनिधिसभाका पूर्व सदस्य थापाले उक्त धारणा राख्नुभएको हो । केपी शर्मा ओली नेतृत्वको एमाले सरकारको समयमा भएका बिकास निर्माण धेरै थिए तर हामीले प्रचार गरेनौं काम गरेका थियौं । पश्चिम म्याग्दीको दरवाङ हुँदै ताकम–मुना जोड्ने सडक होस या बिम र मराङ जोड्ने लामो झोलुङ्गे पुल–हाम्रै पालामा शुरु भएको हो । धौलागिरी लगायतका धेरै हिमाल म्याग्दीमै पर्ने तर पनि हिमाली जिल्लाको रुपमा सुचिकरण भएको थिएन एमाले नेतृत्वको सरकारकै समय र म्याग्दीमा नरदेवी पुन प्रदेशमा तथा संघमा म आफै रहेको समयमा सबै प्रकृया पुरा गरेर हिमाली जिल्लाको रुपमा सुचिकृत गर्न सफल भएका थियौं ।
एमाले नेतृत्वमा सामाजिक सुरक्षा भत्ता सुरु भयो र बढेर चार हजार मासिक पुग्यो, सरकारी सेवामा रहेका सबैको तलब पनि एमालेकै पालामा बढेको थियो त्यस पछि अहिले बढ्न सकेको छैन उहाँले भन्नुभयो ।
प्रत्येक वडामा स्वास्थ्यचौकी, प्रत्येक पालिकामा अस्पताल परिकल्पना गरीयो र कार्यान्वनको चरणमा पु¥याएको पनि एमाले नेतृत्वको सरकारकै पालामा हो । नेकपा एमालेले अरुले भन्दा फरक मात्रै नभएर दिगो काम गर्ने गरेको तर्फ संकेत गर्दै एमालेका केन्द्रीय सदस्य तथा मुस्ताङ जिल्ला इन्चार्ज थापाले भन्नुभयो गठबन्धन तोडियो अब कम्युनिष्टहरु एकापट्टी भएका छन् यो राम्रो संकेत हो । कांग्रेसबाट माओवादीलाई छुटाइयो र हामीले सहयोग गरेका छौं बिनाकुनै फरक दावी सहित । मन्त्रालय भागवण्डामा पनि हामीले केही दावी गरेनौं दिएको लिएर समर्थन् गरेका छौं हामी सरकारलाई पूर्ण सहयोग गर्छौं उहाँले भन्नुभयो ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले नेकपा एमालेले देशै भरमा पहिलो पटक स्थानिय तहको अधिवेशन थालेको र आउने निर्वाचनमा पनि पहिलो पार्टी हुने दावी गर्नुभयो । धवलागिरी गाउँपालिकाबाट थालेका पालिका अधिवेशन नेपालमै पहिलो र मालिका गाउँपालिकामा भएको अधिवेसन पनि सम्बभत देशैभरमा दोश्रो भएको बताउनुभयो । कुनै पनि स्थानमा जिम्मेवारी लिने र लिएको जिम्मेवारी पुरा नगर्ने प्रबृत्ती हट्नु पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो जुनसुकै ठाउमा पनि अधिवेशन हुँदा दावी गर्न पुग्नेहरु भोलीपल्टैबाट जिम्मेवारीका कुनै काम नगर्ने प्रबृत्ति धेरै ठाउँमा छ त्यसैले जिम्मेवारी लिएपछि काम गरिनु पर्छ काम नगर्नेले जिम्मेवारी पनि लिन हुँदैन ।
मिसन २०८४ लाई अझै बलियो र मजबुत बनाउनका लागि अहिलेको गठबन्धन निकै फलदायी हुने उहाँको तर्क थियो । देशका कम्युनिष्टहरु एकै कित्तामा उभिएको अहिलेको अवस्थाले मिसन ०८४ लाई कसैले छेक्न नसक्ने उहाँले उद्घोष गर्नुभयो ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा मालिका गाउँपालिकाकी पूर्व उपाध्यक्ष खरमायाँ बिटालुले महिला सहभागिताले देशलाइ अग्रगतिमा लाने बताउँदै महिला सहभागिता बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले समावेशी तबरले काम गर्नका लागि नेकपा एमालेबाट अरुले पनि सिक्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपसचिव सतप्रसाद रोका, खड्ग गिरी, जिल्ला कमिटी सदस्य बेगप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिका कमिटीका अध्यक्ष प्रगति कार्कीले मन्तव्य राख्नु भएको थियो । नेकपा एमाले मालिका गाउँपालिका कमिटीका कार्यावाहक अध्यक्ष दलमान पुनको अध्यक्षता र मालिका गाउँपालिका–२ का अध्यक्ष उदयकु बुढाथोकीको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सन्तनाथ सुवेदीले गर्नुभएको थियो ।

Leave a Reply