‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नारासहित ११४औं अन्तर्राष्ट्रिय नारी दिवस–२०८० मनाइएको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रवार नारी दिवसको अवसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले तत्कालीन समयमा शासक तथा मालिकहरुले महिला श्रमिकहरुमाथि गरेको श्रम शोषणको विरुद्धमा महिलाकै नेतृत्वमा आन्दोलन गरी हक, अधिकारको स्थापित भएकाले त्यसैको सम्झनास्वरुप नारी दिवस मनाउन थालिएको बताउनुभयो । उहाँले गाउँपालिकाले महिलाहरुको आर्थिक सशक्तिकरणलगायत विभिन्न कार्यक्रमहरुमार्फत सचेत बनाउने गरिएको बताउनुभयो ।

मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले महिलाहरुमा रहेको क्षमताको प्रस्फुटन गरेर उनीहरुलाई सक्षम र सबल बनाउन आवश्यक पहलथालिएको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यक्तित्व निर्माण गर्नका लागि अहिले विभिन्न अनलाइन तथा सामाजिक सञ्जाल र युट्वबाट पनि प्रशिक्षण लिने सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै गाउँपालिकाका सामाजिक विकास अधिकृत तथा सूचना अधिकारी राजेन्द्र आचार्यले स्वागत गर्नुभएको थियो ।

सचेतनामूलक कार्यक्रमको पत्रकार तथा अधिवक्ता सुष्मा पौडेल र अर्का पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो । मंगला–२, बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती क्षत्री, गाउँ कार्यपालिका र गाउँसभाका सदस्यहरु तथा अन्य महिलाहरुले सहभागिता जनाएको कार्यक्रमको वडा सचिव अनिताकुमारी शर्माले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply