म्याग्दीको बेनी नगरपालिका-६, अर्थुङ्गेका स्वर्गीय प्रेम बराईलीको परिवारलाई आज (सोमबार) आर्थिक सहयोग हस्तान्तरण भएको छ । आर्थिक हिसाबले विपन्न समुदायको परिवारलाई अर्थुङ्गेका युवाहरु शिशिर बानियाँ, बसन्त बानियाँ र हेमन्त बानियाँको पहलमा सङ्कलित सहयोग रकम हस्तान्तरण गरिएको हो ।

बराईलीको निधनपछि पीडित परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्वदेश तथा विदेशमा आर्थिक सङ्कलन अभियान सञ्चालन भएको थियो । उक्त अभियानमार्फत सङ्कलित नगद एकलाख ११ हजार रुपैयाँ स्व. बराईलीको भाउजु मनकुमारी बराईलीलाई अर्थुङ्गेका वडा अध्यक्ष कृष्णसिङ बानियाँमार्फत हस्तान्तरण गरिएको स्थानीय युवा शिशिर बानियाँले जानकारी दिनुभयो ।

रोजगारको सिलसिलामा दक्षिण कोरियामा कार्यरत अर्थुङ्गेका युवा बसन्त बानियाँले ५० हजार सङ्कलन गरेर पठाउनुभएको थियो भने स्थानीय अमर बानियाँले १० हजार सहयोग गरी अभियानको थालनी गरिएको थियो । स्व. बराईलीको निधन भएको नवौं दिनमा सो रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ भने बोलेको केही रकम उठ्न बाँकी रहेको आर्थिक सङ्कलन अभियानकर्ता बानियाँले बताउनुभयो । बराईलीको ३७ वर्षको अल्पायुमा नै निधन भएको स्थानीयवासीले जनाएका छन् ।

स्व. बराईलीको परिवारमा अहिले बुढी आमासहित ९ र १३ वर्षका नाबालक छोराछोरी रहेका छन्भने एक छोरीको विवाह भैसकेको छ । पीडित परिवार भूमिहिन तथा सुकुम्बासी हुन् । दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका बराईलीको परिवारमा प्रेमको निधनपछि परिवार सङ्कटमा परेको छ । स्व. बराईलीको परिवारलाई थप आर्थिक सहयोगको आवश्यकता रहेको स्थानीय युवा बानियाँले बताउनुभयो ।

स्थानीय समाजसेवी मुना बानियाँको अध्यक्षता र शिशिर बानियाँको सञ्चालनमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका सदस्य कृष्णदत्त पौडेल, स्थानीय समाजसेवी तथा बुद्धिजीवी अमर बानियाँ, महेन्द्र बानियाँ, सुवास विश्वकर्मा लगायतको विशेष उपस्थिति रहेको थियो ।

Leave a Reply