सबै मिलेर संविधानको कार्यान्वयन गर्नुपर्छ : पूर्वअध्यक्ष तिमिल्सीना

राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सबै मिलेर संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले बेनी नगरपालिका कमिटीको दोस्रो अधिवेशनको आज (बुधवार) म्याग्दीको बेनीमा उद्घाटन गर्दै उहाँले संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो ।

पूर्व अध्यक्ष तिमिल्सीनाले सरकार, राजनीतिक दल र जनप्रतिनिधिहरुले संविधानको कार्यान्वयन गर्नुपर्ने बताउँदै कतिपय विकसित देशहरुको तुलनामा नेपालले उत्कृष्ट संविधान निर्माण गरेको दावी गर्नुभयो । उहाँले कानुनी र संवैधानिक हिसाबले अन्य देशभन्दा नेपालले अत्यन्तै राम्रो संविधान बनाएको भनेर विदेशी कूटनीतिज्ञ र प्रतिनिधिहरुले प्रशंसा गर्ने गरेको बताउँदै सबै मिलेर संविधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व अध्यक्ष तिमिल्सीनाले भन्नुभयो, ‘आज हामी कानुनी र संवैधानिक हिसाबले दुनियाका अब्बल भनिने संविधान जस्तै नेपालको संविधानमा पनि कमी, कमजोरीहरु केही होलान्, तिनलाई सच्याउनुपर्नेहोला । तर, अत्यन्तै राम्रो संविधान बनेको छ । दुनियाका मान्छेहरुले प्रशंसा गर्छन् । नेपालमा हामीले यो व्यवस्था गरेका छौं, भनेर यहाँ आउने विभिन्न कूटनीतिक क्षेत्रका मान्छे या बाहिर जाँदाखेरी त्यो देशका त्यहाँका सभामुखहरु, अध्यक्ष, त्यहाँका मन्त्रीहरुसँग मैले आफै कुरा गर्दा पनि ओहो नेपालको यस्तो राम्रो संविधान भन्छन् । तर संविधान आफै खुरुखुरु दौडिएर कार्यान्वयन हुँदैन । कार्यान्वयन गर्ने कसले हो, सरकारले हो । राजनीतिक दलहरुले हो । जनप्रतिनिधिले हो । त्यसैले, संविधान कार्यान्वयन गर्ने कुरामा हामीले ध्यान दिनुपर्छ ।’

नेकपा एमालेको नेता समेत रहनुभएका राष्ट्रिय सभाका पूर्व अध्यक्ष तिमिल्सीनाले संविधानको कार्यान्वयन गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन, देशको सीक्षासुरक्षा गर्न र देशमा विकास निर्माणको गतिलाई तीव्रता दिनको लागि वर्तमान अवस्थामा नयाँ गठबन्धन बनेको बताउनुभयो । उहाँले अघिल्लो गठबन्धनभित्र प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रको बीचमा बजेट र योजना कार्यान्वयनदेखि संविधानलाई बुझ्ने विषयमा समेत मतभेद सिर्जना भएपछि देशलाई सङ्कटबाट बचाउन एमालेको अगुवाइमा नयाँ गठबन्धन निर्माण गरिएको बताउनुभयो ।

तीनै तहका सरकारले स्वदेशमै रोजगारको सिर्जना गरी युवा पलायनलाई रोक्नुपर्ने बताउँदै यसका लागि पहल गर्न एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई नेता तिमिल्सीनाले सुझाव दिनुभयो । उहाँले कुनै पनि निर्वाचनमा सहभागी हुँदै गर्दा जो जसले जिते पनि पार्टीले जित्ने भएकाले जहाँ जिते पनि व्यक्ति नभएर पार्टीले जित्ने हुँदा जितेको ठाउँमा पनि पार्टीकै काम गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेका गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले चुनाव जित्नका लागि जनताको विश्वास जित्नैपर्ने बताउनुभयो । उहाँले एमाले पार्टी अरुभन्दा फरक पार्टी भएकाले पब्लिक अडिटमा सफल हुन सक्ने व्यक्ति नै चुनावी प्रतिस्पर्धामा उत्रिनुपर्ने बताउनुभयो । कुनै पनि स्थानमा जिम्मेवारी लिनुपर्ने ठाउँमा अगाडि सर्ने र जिम्मेवारी लिएपछि पूरा नगर्ने प्रवृत्ति हट्नुपर्ने बताउँदै उहाँले अब पार्टीभित्र पनि सुदृढीकरण तथा शुद्धिकरणको अभियान आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्वय भूपेन्द्रबहादुर थापा, नरदेवी पुन, गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, किरण सापकोटा, सिर्जना केसी, जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी, मदनभण्डारी फाउण्डेशनका केन्द्रीय सचिव सन्तोष रावल, एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, पूर्व अध्यक्ष देवेन्द्र केसी, उपसचिव सतप्रसाद रोका, पूर्व सचिव सुरत केसी, उपसचिव राजकुमार थापा र एमाले अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष धनकुमार पूर्जाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनको उद्घाटनसत्र एमाले बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसीको अध्यक्षता, पूर्व उपाध्यक्ष लिलाराम गौतमको स्वागत र सचिव सुवाश विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।