म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतको पुनः निर्माण गरिने भएको छ । सामरिक स्थलको मौलिकस्वरुप नबिग्रँने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको हो । नगरपालिकाले ऐतिहासिक कोतको मौलिकस्वरुप यथावत रहनेगरी पुनः निर्माण गर्नका लागि डिपिआर तयार गरेको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । “पुनः निर्माणका लागि नगरपालिकाले डिपिआर तयार गरेको छ ।

पालिकाको बजेटले मात्र पुनःनिर्माण सम्भव नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसँग पनि अनुरोध गर्ने भएका छौँ”, वडाध्यक्ष कार्कीले भन्नुभयो, “ऐतिहासिक कोतको गर्वगृह र अन्य पुरातात्विक सम्पदा यथावत रहनेगरी पुनःनिर्माण गर्नेछौँ ।” खड्गभवानी कोत पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै गएको छ । ज्यामरुककोटको छिमिकी बागलुङको पञ्चकोटमा धार्मिक पर्यटक वृद्धि भएसँगै ऐतिहासिक ज्यामरुककोटमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय खड्गभवानी कोत परिसरमा विभिन्न पूर्वाधार निर्माण भएका छन् । समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करिब छ सय वर्ष पुरानो इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदा पर्यटक र विकाससँग जोडिएका कार्कीको भनाइ छ ।

पन्ध्रौँ शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको ९खड्गभवानी कोत० परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको उहाँले बताउनुभयो । वडाअध्यक्ष  कार्कीका अनुसार यहाँ मल्ल कालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरू समेत रहेका छन् । सदरमुकाम बेनीबजारबाट छ किलोमिटर टाढा रहेको ज्यामरुककोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने ब्राह्मण, क्षेत्री र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको स्थानीय बताउँछन् । “उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायत नौ वटा हिमशृङ्खला छन् । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य देख्न सकिन्छ । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ”, वडाध्यक्ष कार्कीले भन्नुभयो ।

शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ऐतिहासिक खड्गभवानी कोतको पुनःनिर्माणको तयारी सुरु भएको उहाँले जानकारी दिनुभयो । यहाँबाट देखिने प्राकृतिक दृश्यावलोकन र यहाँको ऐतिहासिक महिमाका कारण यहाँ पुग्ने पर्यटकको मुखबाट ‘आहा ज्यामरुककोट’ शब्द झट्ट निस्कने गर्दछ । प्राकृतिक सुन्दरता, गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि ज्यामरुककोटको आकर्षक भनेको यहाँबाट देखिने प्राकृतिक दृश्य, ऐतिहासिक कोतघर र गौश्वाराका परम्परागत ढुङ्गेघर हुन् ।

उत्तरतर्फ आँखै अगाडि देखिने सेताम्ये हिमाल, बेनी र बागलुङको सहरी दृश्य, रत्नेचौर, पञ्चकोट, पञ्चासे, मल्लाज, पुलाचौर, ढोल्ठान, ताकम, राखुलगायत मुस्ताङ र पर्वतका दर्जनौँ ग्रामीण क्षेत्रको प्राकृतिक दृश्यावलोकन तथा यहाँका घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछन् । पछिल्लो समय ज्यामरुककोट घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीय समाजसेवी एवम् व्यापारी भीमबहादुर पौडेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यमा उल्लेख्य वृद्धि हुँदै गएको छ । बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने बेनी–२ का वडाध्यक्ष कार्कीले बताउनुभयो । सदरमुकामबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेका उहाँको भनाइ छ । बेनीबाट करिब एक घन्टाको पैदलयात्राबाट लभ्लीहिल हुँदै ज्यामरुककोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँपर्ने समयमा गौश्वारामा हिउँसमेत खेल्न सकिने उहाँले बताउनुभयो । पर्यटकका लागि यहाँ होटल तथा होमस्टे सञ्चालित छन् ।

होटल र होमस्टेमा कोदोको ढिँडो, लोकल कुखुराको मासु, गुन्द्रुक, भटमासको अचार, सिस्नो र मासको दाल, वर्षाका समयमा निगुरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने वडाध्यक्ष कार्कीले बताउनुभयो । यहाँको कोसेलीका रूपमा मुलाका चाना, गुन्द्रुक तथा सिजनअनुसार सिस्नो, निगुरो, टुसा तथा भाँगो लैजान सकिन्छ । गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षाको समयमा समस्या हुने गरेको अध्यक्ष कार्कीले सुनाउनुभयो । “वर्षाका समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउनुहुन्छ । यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

पूर्वाधार निर्माण गरी यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ छ । वडाध्यक्ष कार्कीका अनुसार ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको सङ्गमस्थल बनाउने प्रयास गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा दुई वर्षअघि रू २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो ।

गत वर्ष नगरपालिकाको पर्यटनतर्फबाट रू पाँच लाख र वडा कार्यालयको रू दुई लाख विनियोजित बजेटबाट कोत परिसरमा दुई सय १० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिनुभयो । यस क्षेत्रमा थप पूर्वाधार निर्माण गरी यहाँका स्थानीयलाई पर्यटनका माध्यमबाट आर्थिक समृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ छ ।

त्यसैगरी गत वर्ष नै रू १० लाखको लगानीमा गणेश मन्दिर निर्माण र गण्डकी प्रदेश सरकारको रू छ लाखको लगानीमा फूलपातीदेखि कोतघरसम्मको बाटो ढलान गरिएको उहाँले बताउनुभयो । विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ । बयालिस रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायत हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन् ।

Leave a Reply