म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा गएराति भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पाउद्धार जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जिप नेपाने नजिकैको भिरबाट खसेर दुर्घटना भएको हो।

घटनास्थलमा सवारी धनी/चालक ३७ वर्षीय गणेश श्रेष्ठ र पाउद्धारका २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडा सदस्य पूर्ण पाइजाले जानकारी दिए। प्रहरीले औपचारिक रुपमा घटना र मृतकको पुष्टि गर्न बाँकी छ।

सडकदेखि करिब २०० मिटर तल भिरको खोचमा दुर्घटनाग्रस्त अवस्थामा रहेको गाडीको छेउछाउमा सोमबार बिहान २ जनाको शव भेटिएको उनले बताए।

‘हिजो राति पोखरेबगरबाट छुटेको जिप पाउद्धार नपुगेको खबर आएपछि खोज्ने क्रममा सोमबार बिहान ८ बजेतिर भिरमा अड्किएको जिपको छेउमा २ जनाको शव भेटिएपछि प्रहरीलाई खबर गरेका थियौ,’ उनले भने ‘प्रहरी टोली केही बेर अघि घटनास्थलमा आएर शव संकलन तथा अनुसन्धान थालेको छ।’

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले घारा र भुरुङ्ग तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव संकलन, पहिचान र अनुसन्धान थालेको बताए।

Leave a Reply