---Advertisement---

बागलुङ बस दुर्घटनाको कारण ओरालोमा तीव्र गति

On: March 19, 2024 12:35 PM
Follow Us:

९ जनाको मृत्यु भएको बागलुङ बस दुर्घटना तीव्र गतिका कारण भएको खुलेको छ।

सोमबार सवा पाँच बजेतिर निसीखोला गाँउपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस दुर्घटनामा परेको थियो।

उक्त बस सडकबाट झण्डै १५० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित ९ जनाको मृत्यु भएको थियो। २६ जना घाइते छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी प्रमुख एसपी ऋषीराम कँडेलले ओरालो बाटोमा तीव्र गतिमा बस चलाउँदा दुर्घटना भएको बताए।

‘यू आकारको ओरालोमा तीव्र गतिमा बस चलाएको पायौं। ओरालोमा रहेको मोडमा चालकले मोड्न नसकेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ एसपी कँडेलले भने।

प्रहरीले घाइतेहरूसँग पनि कुराकानी गरिरहेको छ। उनीहरूले पनि तीव्र गतिका कारण बस दुर्घटनामा परेको बताएका छन्।

मानवीय लापरबाहीकै कारण बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मदन केसीले जानकारी दिए।

स्थानीय बससँग प्रतिस्पर्धा गरी अगाडि बढ्नेक्रममा दुर्घटना भएको बयान पनि यात्रुले दिएका छन्। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।