म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ पर्वत बेनीमा ३० करोड रुपियाँ लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गरिएको छ ।

पर्वत बेनीका व्यवसायी कृष्ण केसीले करिव २३ रोपनी क्षेत्रफलमा होटल, गार्डेन, पार्कीङ सुविधा, दुईसय पचास जना क्षमताको पार्टी प्यालेस सहितको सुविधा सम्पन्न ४० कोठा भएको होटल संचालनको तयारी गर्नुभएको हो । होटलमा स्विमिङ पुल पनि निर्माण गरिने भएको छ ।

तीनवर्ष अघि ज्ञान गौरी प्यालेस प्रा.लिले होटलको पूर्वाधार निर्माण थालेको थियो । पूर्वाधार निर्माण सम्पन्न भएसँगै आगमी बैशाख १ गते नयाँ वर्ष देखि होटल संचालनका लागि तयारी गरिएको प्रा.लिका संचालक केसीले जानकारी दिनुभयो ।

होटलमा हनिमुन स्विट रुम ३ वटा, मिनि स्विट रुम २ वटा, स्टाण्र्ड रुम १२ वटा र डिलक्स रुम २२ वटा रहेको संचालक केसीले बताउनुभयो । सवै रुमहरुमा एसी जडान गरिएको उहाँको भनाई छ । होटलमा एकसय जना सम्म पाहुना राख्न सक्ने क्षमता रहेको छ । नेपाली तथा विदेशी स्वादिष्ट परिकारहरुको व्यवस्था हुनेछ । करिब एकसय भन्दा बढी सवारीसाधन पार्किङ गर्न सकिने गरी पार्किङ स्थल निर्माण गरिएको छ ।

उहाँले भन्नुभयो, ‘‘पूर्वाधारको सम्पूर्ण कामहरु सकिएको छ । कोठाहरुको व्यवस्थापन, सजावट लगायतका कामहरु सकेर नयाँ वर्ष देखि पाहुनालाई स्वागत गर्ने तयारीमा छौं ।’’ म्याग्दी र मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई उच्चस्तरीय सेवा दिनका लागि होटल संचालन गर्न लागिएको संचालक केसीले बताउनुभयो ।

कालिगण्डकी कोरिडोर क्षेत्रमा दैनिक रुपमा पर्यटक आगमनमा वृद्धि भइरहेको छ होटल सञ्चालक केसीले भन्नुभयो, ‘‘होटल सञ्चालनमा आएसँगै पर्यटकलाई सुविधा सम्पन्न होटलको खोजीमा पोखरा पुग्नुपर्ने बाध्यता हट्ने छ ।’’ कालिगण्डकी कोरिडोरको छेवैमा पर्ने उक्त होटलले म्याग्दी र मुस्ताङको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई उच्चस्तरको सेवा सुविधा दिने उद्देश्य रहेको सञ्चालक केसीले बताउनुभयो ।

पछिल्लो समय मुस्ताङ भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि भएको र बेनी,बागलुङ र कुस्मामा सुविधा सम्पन्न होटलको संख्यामा कमी भएका कारण पर्यटकहरु पोखरा पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरेर होटल संचालन गर्न लागिएको केसीको भनाई छ । होटलका निर्माणका लागि पैतृक जग्गामा थप साढे आठ रोपनी जग्गा खरिद गरेको उहाँले बताउनुभयो ।

होटल संचालमा आएपछि साविक धौलागिरिको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । यो होटल यस क्षेत्रकै सुविधा सम्पन्न होटल हुने सञ्चालक केसीले दावी गर्नुभयो । सवै प्रकारका पाहुनालाई हामीले सेवा दिन्छौं उहाँले भन्नुभयो, ‘‘मुस्ताङ भ्रमण गर्न आउने नेपाली, भारतीय र अन्य मुलुकका पर्यटकले रोजेको र खोजे अनुसारको सेवा सुविधा प्रदान गर्दछौं ।’’

अमित विश्वकर्माको सहयोगमा

Leave a Reply