बागलुङमा भएको बस दुर्घटनाका घाइतेहरु पोखरा विमानस्थलमा अलपत्र परेका छन् । साेमबार साँझ पूर्वीरुकुमबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३७९ नम्बरको बस बागलुङको निसीखोलामा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका थिए भने २ जना घाइते भएका थिए ।

धौलागिरी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ रिफर गरिएका घाइतेहरु मुसिकोट ११ का २० वर्षीय लक्ष्मी पुन र २२ वर्षीय सबिना पुन अहिले पोखरा विमानस्थलमा अलपत्र परेका छन् ।

काठमाडौँ ल्याउनका लागि यति एयरलाइन्सको टिकट लिइएपनि विमानस्थलमा आएपछि एयरलाइन्सले बिरामी लैजान नसकिने बताएको घाइतेका आफन्तले बताएका छन् । यति एयरलाइन्सका कर्मचारीले घाइतेको अवस्था संवेदनशिल भएकाले विमानमा राख्न नसकिने बताएको आफन्त बेबिना पुनले बताइन् ।

यति एयरलाइन्सको पोखरा काउण्टरका कर्मचारी तेज बरालले घाइतेहरुको अवस्था सिटमा बसेर जान सक्ने नरहेकाले फिर्ता गरिएको बताए । बरालले भने, ‘अनलाईनबाट टिकट लिनु भएको रहेछ, ढाडमा समस्या भएकाले सिटमा राखेर लैजाने सक्ने अवस्था देखिएन, त्यसैले टिकट रिफन्ड गरेका छौँ ।’

एयरलाइन्सले फिर्ता गरेपछि लक्ष्मी र सबिना अहिले विमानस्थल बाहिर एम्बुलेन्समा छन् ।

सोमबार पूर्वी रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । Source:- sidhakura.com

Leave a Reply