फेरिएको सत्ता राजनीतिको कोर्षपछि अन्योलमा रहेको नेकपा माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चालाई निरन्तरता दिन सबै दल सहमत भएका छन्।

समाजवादी मोर्चामा रहेका माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए। उक्त बैठकमा समाजवादी मोर्चालाई निरन्तरता दिएर कार्यक्रमहरू अगाडि बढाउने सहमति भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

यस्तै बैठकले समाजवादी मोर्चामा नेकपा एमालेलाई पनि मोर्चामा सहभागी गराउने प्रयास गर्ने निर्णय गरेको छ। ‘हाम्रो पार्टी सुरुदेखि नै समाजवादी मोर्चामा एमालेलगायतका अन्य दललाई पनि समेट्ने पक्षमा थियो। तर, अघिल्लो सत्ता गठबन्धनका कारण एमालेले त्यो कुरा मानिरहेको थिएन,’ विश्वकर्माले भने,‘अहिले सत्ता फेरिएपछि वातावरण सहज भएको छ। उहाँहरू पनि सरकारमा आएकाले मोर्चामा सहभागी गराउने विषयमा छलफल भएको छ।’ एमालेबाहेकका दलसँग पनि आवश्यक छलफल गर्ने कुरा भइरहेको उनले बताए।

बद्लिएको परिस्थितिसँगै मोर्चामा एमाले सहभागी हुने मोर्चाका दलहरू आशावादी बनेका छन्। यसकै लागि मोर्चाका संयोजक समेत रहेका चन्दसहितको टोलीले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग २ घण्टा संवाद गरेका थिए। उक्त संवादमा ओली सकारात्मक देखिएको विश्वकर्माले बताए। ‘उहाँ सकारात्मक हुनुहुन्छ। तर, केही विषयमा थप छलफल हुने जरुरी देखिएको छ,’ उनले भने। आजको बैठकले ओलीसँग थप संवाद गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिम्मेवारी दिइएको विश्वकर्माले बताए।

Leave a Reply