लोकदीप बचत तथा ऋण सहकारी संस्था लिको ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ । सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले म्याग्दीमा रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको र यहाँ संकलन भएको रगतलाई बाहिरी जिल्लामा समेत पठाउने गरेको बताउनुभयो ।रक्तदान कार्यक्रम अत्यन्त सराह्रनीय रहेकाले आगामी दिनमा पनि सामाजिक गतिविधिहरुलाई निरन्तरता दिनुपर्नेमा सभापति बानियाँको जोड थियो ।
स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमको अध्यक्षता सहरकारीकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, स्वागत उपाध्यक्ष देबेन्द्र पौडेल र सञ्चालन सचिव अर्जुन पौडेलले गरेका थिए। बेनी अस्पतालभित्र रहेको रक्तसंचार केन्द्रमा रगतको अभावकै कारण बिरामीको उपचारमा समस्या भएको जानकारी पाउँदा वित्तिकै रक्तदानका लागि दाताहरु तत्कालै पुग्ने गरेका छन् । म्याग्दीमा संकलन गरिएको रगत बागलुङ, पर्वत र कास्कीका बिरामीका लागि पठाउने गरिन्छ ।
निशुल्क रक्तदान र रगत प्रयोग गर्ने बिरामीले समेत अहिले शुल्क तिर्नुपदैन । डेढदशक यता रगतकै अभावका कारण म्याग्दीमा कुनैपनि बिरामीले मृत्युवरण गर्नुपरेको छैन् । सहकारीले स्थापना दिवसको अवसरमा बालगृहका बालबालिका, स्वास्थ्य शिविर, सहकारी शिक्षा,वित्तिय साक्षरता कार्यक्तम सहित विभिन्न कार्यक्रम गरी साताब्यापी कार्यक्रम गर्ने सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।