म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्।

विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गतबर्षका ६३ र नयाँ २४ बिरामी गरी ८७ जनाले नियमित औषधि सेवन गरिरहेको बताइएको छ । जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा १२ जनाा नयाँ क्षयरोग भेटिएका छन् ।

त्यस्तै मालिका गापा ४ जना, मंगला गापा २ धवलागिरी २ जना र रघुगंगा गाउँपालिकामा २ जनामा क्षयरोगी भेटिएका छन् । म्याग्दी जिल्लामा गत आवमा ’टिबी प्रिभ्यालेन्स सर्वे’मा म्याग्दी जिल्लाभित्र क्षयरोगीको संख्या २ सय ४९ क्षयरोगी पत्ता लगाउनुपर्नेमा ६३ जना पत्ता लगाइएको स्वास्थ्य कार्यालयका क्षयरोग फोकलपर्सन गणेश सुबेदीले बताए । म्याग्दीमा परीक्षणको दायरा बढाउँन नसक्दा सङ्क्रमितको बास्तविक संख्या पहिचानमा समस्या भइरहेको छ ।

म्याग्दीका स्थानीय तहले खकार जाँच शिविर, परीक्षण गर्ने ल्याब तथा फोकलपर्सन नियुक्ती नगर्दा, नियमित हुने स्वास्थ्य शिविरमा समेत क्षयरोगका बारेमा सचेतनामुलक अभियान सञ्चालन नगर्दा क्षयरोगको जोखिम बढेको बताइएको छ ।

क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्न लगाउने, तीनपटक परीक्षण गर्ने र सङ्क्रमितको परिवारका सदस्यको पनि खकार परीक्षणको कार्य म्याग्दीमा न्यून भएकाले समुदायस्तरमा क्षयरोगीको संख्या अत्याधिक हुनसक्ने बताइएको छ ।

एकजना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताए । ‘म्याग्दीमा क्षयरोगीको पहिचानका लागी गर्नुपर्नेै धेरै काम गर्न सकिएको छैन, जनशक्ती र ल्याबको अभावले समेत परीक्षण प्रभावित भइरहेको छ’ प्रमुख ठकुराठीले भने।

स्वास्थ्य कार्यालयमै खकार जाँच गर्ने प्रयोगशाला छैन भने बेनी अस्पताल बाहेक प्राथमिक उपचार केन्द्र दरबाङ र भुरुङ तातोपानी स्वास्थ्य चौकीमा समेत नियमित खकार चेकजाँच गर्ने जनशक्ती नहुदाँ समस्या हुने गरेको छ ।

जिल्लाका सबै स्थानीय तहमा प्रयोगशाला र जनशक्तीको ब्यवस्थापन गर्न सकिएमा वडास्तरमै पुगेर खकार परीक्षण शिविर सञ्चालन गर्न सकेमा सङ्क्रमितको पहिचान गर्न सजिलो हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगतदेखिएमा खकार जाँच गर्नुपर्छ ।

रोगको पहिचानपछि नियमित औषधि सेवन गरेमा ९० प्रतिशतको उपचार सम्भव छ । नियमित औषधि खानुपर्नेमा बीचमा औषधि छोडेर पुनःबल्झिएर उपचारमा आउने गरेको बताउँदै जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने बेनी अस्पतालकी डा. अनुषा मानन्धरले बताइन् ।

‘अझै पनि समाजले क्षयरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ,लुकेर बसेका क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउनुपर्छ,’ डा. मानन्धरले भनिन्। उनले क्षयरोग जनस्वास्थ्यको दृष्टिकोणले जोखिम मानिएको बताईन्।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको अवस्थामा जनचेतनामुलकसहित विभिन्न माध्यमबाट बिरामीको पहिचानमा जोड दिए।

Leave a Reply