सोमबार दिउँसो म्याग्दीका लेकाली क्षेत्रहरुमा वर्षासँगै परेको भीषण असिना पानीले थन्काउने बेलाको बाली सखाप पारी दिएपछि किसान चिन्तित बनेका छन् ।

लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नैलागेको हिउँदेवाली समेत असिनाले नास गरिदिए पछि किसान चिन्तित भएका हुन् ।

जिल्लाको रघुगङ्गा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोला,बेनी नगरपालिकाको पात्लेखेत लगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको पाखापानीका टेकबहादुर शेरपुजाले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेबाली नष्ट गरेको छ ।

त्यसैगरी असिना पानीले केराखेतीमा पनि असर गरेको कृषकको भनाइ छ । खेतमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको कुइनेमंगलेका किसान तिलक पुनले बताउनुभयो । ‘‘लामो समयसम्मको खडेरीका कारण हिउँदे बाली सुकेको थियो । त्यसमाथि असिना पानीले नाश गरेपछि थप समस्या भयो’’ उहाँले भन्नुभयो ।

सोमबार (आज) दिउँसो हिउँजस्तै जम्नेगरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उहाँको भनाइ छ ।
खेतबारीमा लगाएको गहुँ,तोरी,केराउ,जौ,उवा लगाएत भित्राउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै,सिमी,आलु,काँक्रो,घिरौला लगाएतका तरकारी र बालीका विरुवामा समेत क्षति पुगेको किसानहरुले बताएका छन् । त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पु-याएको छ । असिनाले गरेको क्षतिको विवरण संकलन भैरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस, माघ र फागुन महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको किसानहरु बताउछन् । जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषकहरु भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ ।

वर्षा भएपछि चैते धान रोप्न र खेतबारीमा मकै बाली लगाउन पाउँदा असिना नपरेका ठाउँका किसानहरु भने खुसी भएका छन् । बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलु लगाउन भने सहज भएको अन्य कृषकहरुको भनाइ थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५देखि ४५ प्रतिशत सम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।

जिल्लाका गुर्जा, मुदी, टाड्के, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रहरुमा हिमपात नहुँदा पशुपालक कृषकहरुलाई समस्या भएको छ । बुकी र खर्कहरुमा हिमपात नभए पछि घाँस पलाउन नसक्दा पशुपालक कृषकहरुलाई समस्या भएको हो । समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलु लगायत हिउँदेबालीको उत्पादनमा समेत ह्रास आएको छ भने पशुलाई चरनको समेत समस्या हुने देखिएको किसानहरुले बताएका छन् ।

Leave a Reply