पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट नारायणघाटका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । विगत एक साता अगाडीदेखि बेनी नगरपालिका–४ राक्सेका दिपक सुबेदीले पश्चिम म्याग्दीबाट नारायणघाट जाने यात्रुको सहजताका लागि पहिलोपटक विद्युतीय माइक्रोबस सेवा सुरू गरेका हुन् ।

ग १ ज ८३३५ नम्बरको करिब ५० लाखको लागतमा सुबेदी टुर एण्ड ट्राभल्लमार्फत पहिलो चरणमा एकवटा इलेक्ट्रिक बसबाट सेवा सुुरु गरेको दिपक सुबेदीले बताए। ‘निकै प्रभावकारी हुदैछ, यात्रुको समेत रोजाईमा परेकाले नियमित सञ्चालनमा छ,‘आवश्यकता अनुसार बस संख्या थपेर सेवा दिने योजना छ’ सुबेदीले भने । उनका अनुसार दरबाङ, बावियाचौर, तातोपानी क्षेत्रबाट यात्रुलाई सुविधा छ ।

म्याग्दीमा सार्वजनिक यातायातका लागि विद्युतीय सवारीसाधनको कम प्रयोग भइरहेको अवस्थामा पश्चिम म्याग्दीबाट उक्त सेवा सुरू गरिएको छ । यात्राको क्रममा अनावश्यक आवाज नआउने, पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ नफाल्ने र इन्धनमा खर्च नलाग्ने भएकाले समेत सहज भएको सुबेदीको भनाई छ ।

प्रति यात्रु दरबाङबाट १४ सय, बावियाचौरबाट १३, तातोपानीबाट १२ सय र बेनीबजारबाट ११ सयमा नारायणघाट पुग्न सकिन्छ । अहिले घरमै चार्जिङ स्टेशन राखिएको छ । हरेक विहान साढे ७ बजे दरबाङबाट यात्रु लिएर आउने गरेको छ । नियमित तालिका बाहेक रिर्जबमा देशका विभिन्न स्थानमा समेत यात्रु बोकेर जाने गरेको छ ।

Leave a Reply