म्याग्दीको बेनी नगरपालिका-६,अर्थुङ्गेका स्वर्गीय प्रेम बराईलीको परिवारलाई इजरायलबाट आर्थिक सहयोग गरिएको छ । रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएकी शुसिला बरालको संयोजकत्वमा ४० हजार ५ सय सहयोग संकलन गरी वडा अध्यक्ष कृष्णसिङ बानियाँमार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

आर्थिक अवस्था कमजोर रहेको र परिवारका सदस्यको पालनपोषणका लागि किरण बानियाँको अनुरोधमा शुसिला बराल १० हजार, सुरेन्द्र नगरकोटी १० हजार, निर्मला राई १० हजार, कविता राई ३ हजार, मिना बिक ३ हजार, सरस्वती खनाल २५ सय र रोजी पुन मगर २ हजार गरी ४० हजार ५ सय रुपैयाँ सहयोग गरिएको संयोजकर्ता शुसिला बरालले जानकारी दिनुभयो । आर्थिक हिसाबले विपन्न समुदायको परिवारलाई उक्त सहयोगबाट दैनिक खर्च सञ्चालनमा सहज भएको वडा अध्यक्ष बानियाँको भनाई छ ।

बराईलीको निधनपछि पीडित परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्वदेश तथा विदेशमा आर्थिक सङ्कलन अभियान सञ्चालन भएको थियो ।यसअगाडी अभियानमार्फत यसअगाडी अर्थुङ्गेका युवाहरु शिशिर बानियाँ, बसन्त बानियाँ र हेमन्त बानियाँको पहलमा एकलाख ११ हजार रुपैयाँ स्व. बराईलीको भाउजु मनकुमारी बराईलीलाई हस्तान्तरण गरिएको थियो । बराईलीको ३७ वर्षको अल्पायुमा नै निधन भएको स्थानीयवासीले जनाएका छन् ।

स्व. बराईलीको परिवारमा अहिले बुढी आमासहित ९ र १३ वर्षका नाबालक छोराछोरी रहेका छन् । पीडित परिवार भूमिहिन तथा सुकुम्बासी हुन् । दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका बराईलीको परिवारमा प्रेमको निधनपछि परिवार सङ्कटमा परेका थिए ।

Leave a Reply