नेपाली वैज्ञानिक भविन्द्र कुँवरले आफ्नो वैज्ञानिक अनुसन्धान गर्न सङ्गीतको सहारा लिँदै आउनुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटमा स्थायी घर भै हाल काठमाण्डौंमा वस्दै आउनुभएका कुँवरले सङ्गीतका क्षेत्रमा समेत अनुसन्धान गरी गोमन सङ्गीतलिपिको समेत आविष्कार गर्नुभएको छ ।

वैज्ञानिक कुँवरले विज्ञानका अनुसन्धानलाई अघि बढाउनको लागि आवश्यक पर्ने खर्च जुटाउन सङ्गीतको सहारा लिँदै आउनुभएको हो । विज्ञानको काम गर्न र आफू चल्न आवश्यक पर्ने खर्च जुटाउने कुनै आधार आवश्यक भएकाले संगीत सिकाउने काम गरी खर्च जुटाउने गरेको उहाँले बताउनुभयो ।

“आफूले गर्न सक्ने काममध्ये सङ्गीत सिकाउन अलिक सजिलो हुन्छ भन्ने लाग्यो अनि सङ्गीतलाई पेशा बनाएर वैज्ञानिक अनुसन्धान अघि बढाउँदै जाने सोँच राखेँ ।” वैज्ञानिक कुँवरले भन्नुभयो ।औपचारिक अध्ययनका हिसाबले नेपाली भाषा–साहित्य र गणितको विद्यार्थी भए पनि काम र पेशाका हिसाबले आफुले भौतिक विज्ञान, साहित्य र सङ्गीत क्षेत्रमा काम गरीरहेको कुँवरको भनाइ छ ।

संगीत तर्फ कुँवरको पृष्ठभूमि
कुँवर सानो छँदा उहाँका आमा घरमाहरेक वर्ष स्वस्थानीको व्रत बस्ने गर्नुहुन्थ्यो । त्यस व्रतले गर्दा कुँवरको घरमा साङ्गीतिक माहोल पनि बन्ने गथ्र्यो ।

हरेक वर्ष स्वस्थानीको पूजा लगाउने हुँदा घरमा लगभग एक महिनाजस्तो छरछिमेकी र आफन्तजन भेला हुने, जानीनजानी खँजडीमुजुरा बजाउने, थाल, कचैरा र गिलास जस्ता भाँडाकुँडा बजाउने रनाच्नेगाउने क्रियाकलाप हुने गर्थे । कुँवरले आफ्नो पारिवारिक पृष्ठभूमिको स्मरण गर्दै कुँवरले भन्नुभयो“स्वस्थानी सकिएपछि पनि त्यसले केही समय प्रभाव पाथ्र्यो ।”

कुँवरको साङ्गीतिक यात्राको आरम्भ पनि आमाको प्रेरणाबाट भएको थियो । २०४२ सालमा आमाले नै सिकाएको एउटा गीत गाएर विद्यालयको अन्तरसदन प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त भएको उहाँले बताउनुभयो ।

घरका झ्यालढोकानै ट्याम्को र दमाहा
कलाकारहरूलाई सङ्गीतमा लाग्न सामाजिक पृष्ठभूमिले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् ।कुँवरलाई पनि सामाजिक वातावरणले सङ्गीतका क्षेत्रमा लाग्न प्रेरणा दिएको थियो ।

आफ्नो सामाजिक पृष्ठभूमिको स्मरण गर्ने क्रममा कुँवरले भन्नुभयो, “आफू बसेको समाज नै सङ्गीतमय समाज थियो । प्रायः बिहान बेलुका दैनिकजसो पञ्चे बाजा र नौमती बाजाको रियाज भइरहेको हुन्थ्यो ।”
कहिलेकाहीँ मौका मिल्दा साथीहरूसँगै जानीनजानी ट्याम्को बजाउने र दमाहा बजाउने प्रयास उहाँले पनि गर्नुहुन्थ्यो । यसबाट पनि सङ्गीतका क्षेत्रमा लाग्न सजिलो भएको बुझाइ कुँवरको छ ।

“आफ्नो घरमा दमाहा र ट्याम्को नभए पनि त्यस्तै कपि गर्न घरका खम्बा र झ्यालढोकालाई ट्याम्को र दमाहाजसरी बजाउने प्रयास गरियो । ग्यालिन, मधुस, टेबल र थालकचौरा पनि बजाइयो ।” कुँवरले आफ्नो सामाजिक पृष्ठभूमिको स्मृतिचित्र प्रस्तुत गर्नुभयो ।

यसरी बढ्यो गितार र बाँसुरीप्रति अभिरुचि
दाजुले घरमा गितार किनेर ल्याएपछि र गितारसम्बन्धी पुस्तक पाएपछि वैज्ञानिक कुँवरलाईगितार सिक्ने रहर लागेको थियो। त्यतिबेला खासमा गितार सिक्ने प्रयासमात्र भएको रुचिमात्र बढेको अनुभव कुँवरको रहेको छ ।
पछि क्याम्पस पढ्ने बेलामा भने एउटा बाँसुरी बेच्ने पसलमा एक जना मानिसले बाँसुरी बजाएको सुनेपछि कुँवरलाई पनि बाँसुरी बजाउन मन लागेको थियो ।

“मैले त्यतिबेलै एउटा बाँसुरी किनेँ । उहाँसँग कसरी बजाउने भनी सोधेँ । उहाँले एउटा सजिलो तरिका भनिदिनुभयो । उहाँले ‘सुरुमा गीत नबजाउनू केवल खोल्दै माथि लाने र बन्द गर्दै तल ल्याउने गर्नू । बाँसुरी आइहाल्छ’ भन्नुभयो ।” कुँवरले पहिलोचोटि बाँसुरी किन्दाको अनुभव स्मरण गर्नुभयो ।

त्यही भनाइका आधारमा कुँवरले अति नै एकोहोरो भएर बाँसुरी फुकेको फुक्यै गर्नुभयो । निरन्तर अभ्यास गर्दा धेरैलाई झिझो लाग्ने बनाएको तितो अनुभव पनि कुँवरलाई छ ।

“बुबाले भने हुन्छ, मिल्न लागेको छ भन्नु हुन्थ्यो । अनि त्यसैबाट हौसिँदै गएँ ।” कुँवरले भनाइ छ ।
साङ्गीतिक यात्रामा भानिज अर्जुन कार्की, विक्रम घिमिरे र देवदास लगायतका साथीहरूसँगको हिन्दी गीतसङ्गीतको सङ्गत र प्रतिभा युवा क्लबले दिएकासांस्कृतिक कार्यक्रमका लागि केही गीतका शब्द लेख्ने र भाका बनाउने अवसरहरूलाई कहिल्यै पनि भुल्न नसक्ने कुँवरले बताउनुभयो ।

भारीसँगै बाँसुरी
कुनै बेला बाँसुरी बजाउनुलाई गाउँघरमा प्रायः यौवनावस्थाको अभिव्यक्तिका रूपमा मात्र लिने स्थिति हुन्थ्यो । अझै पनि बाँसुरी बजाउनु कुनै काम हो भन्ने धारणा विकसित भइसकेको पाइँदैन ।
“यसलाई कतिपय ठाउँमा समाजले कुनै गम्भिर पेशा हो भनेर स्वीकार गर्ने स्थिति अझै पनि विकास भइसकेको नहुन सक्छ।” कुँवरले बाँसुरीबारेको वर्तमान सामाजिक धारणामाथि टिप्पणी गर्नुभयो ।

सामाजिक धारणा जेजस्तो भए पनि कुँवरले भने त्यतिबेलै कलाकार बन्ने सपना राख्नुभएको थियो । त्यसैले घाँस काट्न जाँदा वा घाँसको भारी बोकेर आउँदा बाँसुरी फुक्दै उकाली ओराली गर्न कुँवरलाई मन पथ्र्यो ।
“त्यो बेलाकतै बाँसुरी बजे पनि छरछिमेकीलेभने मेरो नै नाम लिने गर्नुहुन्थ्यो ।” कुँवरले बिगत सम्झनुभयो ।

साहित्यसँग सङ्गीतलाई जोड्ने रहर जाग्यो

२०५० सालमा ‘फापरखेत साहित्य सङ्कलन परिवार’ ले प्रकाशन गर्ने “साहित्य र खोज” नामक लघुपत्रिकामा कुँवर केही वर्ष सम्पादक बन्नुभयो । यस क्रममा स्थानीय र अन्य क्षेत्रका स्रष्टाका रचना सम्पादन र प्रकाशन गर्ने अवसर उहाँलाई प्राप्त भयो। सँगसँगै उहाँले पनि केही गीतगजल पनि रचना गर्नुभयो ।

“आफूले लेखेका गीतलाई भाका बनाएर गाउने इच्छा भइरह्यो । त्यसैले सङ्गीतकार बन्ने रहर अझ प्रबल हुँदै गयो । यसले गर्दा पनि सङ्गीतप्रतिको लगाव छुट्न पाएन ।” कुँवरले आफ्नो साहित्यिक अनुभव साझा गर्दै बताउनुभयो ।

नोटेसनको अभ्यास

सङ्गीतकार बन्ने रहर पलाएपछि वैज्ञानिक कुँवरको ध्यान सङ्गीतका किताब पढ्ने, नोटेसन बुझ्ने, लेखेको नोटेसनको भाका निकाल्ने र आफूले बनाएका भाकालाई नोटेसनमा लेख्ने कार्यतिर मोडियो । ंपछि रेडियो नेपाल लगायत विभिन्न सङ्गीत प्रशिक्षण केन्द्रमा धाउने क्रम पनि रह्यो । नोटेसन बुझ्ने भएकाले थप नयाँ कुरा सिक्न कुँवरलाई त्यति समस्या भएन ।
“पछि भने आफूले पनि सङ्गीत सिकाउन सकिने कुरामा ढुक्क भएँ ।” कुँवरले सङ्गीत सिकाउने पेसा अपनाउनुपूर्वको अवस्थाबारे जानकारी गराउनुभयो ।

वैज्ञानिक अनुसन्धानका लागि सङ्गीत र शिक्षणको सहारा

वैज्ञानिक कुँवरले ०५५ सालतिरबाट मनमा आएको उपकरण आविष्कारको सोँचलाई लिएर ०६० सालमा एउटा यन्त्र बनाउने जमर्को गर्नुभएको थियो । त्यस क्रममा उहाँले बागलुङको ग्यालेक्सी इन्जिनियरिङ् वर्कसपमा काम गर्नुभएको थियो । त्यतिबेला दाजुले परीक्षण गर्नका लागि दिएको केही रकम र शिक्षण पेशाबाट आएको केही रकम प्रयोग गरेको कुँवर बताउनुहुन्छ । यससँगै कुँवरको वैज्ञानिक परीक्षणको क्रम वैचारिक परीक्षणबाट प्रयोगशालीय परीक्षणको तहमा अघि बढेको थियो ।

त्यस बेला मेसिन बनाउँदा सङ्कटकालमा हतियार बनाउन थालेको शङ्का गरिएको स्मरण पनि कुँवरले गर्नुभयो ।
“नेपाली र गणित विषयमा स्नातक तह उत्तीर्ण गरेपछि काठमाडौँ आएँ अनि नेपालीमा स्नातकोत्तर पढाइ सकेँ । यसपछि युबिएम १ को परीक्षणसफल भयो तर थप अनुसन्धान अघि बढाउन खर्च जुटाउन समस्या भयो ।” कुँवरले अनुसन्धानखर्च जुटाउन भएको समस्याबारे जानकारी गराउनुभयो ।

विज्ञानका आविष्कारलाई अघि बढाउन आफ्नो कुनै पेशाव्यवसाय भएको हुनुपर्ने देखियो । तत्कालका लागि पेशाका रूपमा अँगाल्न सकिनेजस्तो विकल्प सङ्गीत नै थियो । त्यसैले सङ्गीतलाई पेसा बनाउँदै आएको कुँवर बताउनुहुन्छ ।
सङ्गीतकर्मको स्थिति

पेशाका क्रममा कुँवरले सर्वप्रथम गायन सिकाउन थाल्नुभएको थियो । त्यसपछि क्रमशः हारमोनियम, गितार, किबोर्ड, तबला, मादल, सारङ्गी, कम्पोज आदि विषय कोर्स बनाएर सिकाउन थाल्नुभयो । तर उहाँले आफ्नो आवाजमा कुनै गीत रेकर्डिङ् भने गराउनुभएको छैन ।

“खासमा गायन प्रशिक्षणमा मेरो बढी रूचि भयो तर आजसम्म आफ्नो आवाजमा एउटा गीत पनि रेकर्ड गरेको छैनँ । अबचाहिँ गाउँछु होला ।” कुँवरले गाउने रहर व्यक्त गर्नुभयो ।

वैज्ञानिक कुँवरले केही गीतमा सङ्गीत गर्ने र केही गीतमा संगीत संयोजन गर्नेकार्य गर्नुभएको छ । प्रशिक्षण, सङ्गीतरचना र सङ्गीतसंयोजनलाई पेशाका रूपमा अपनाउँदै आउनुभएको छ ।

“यो बिचमा विद्यावारिधिको अध्ययनले अलिक समय लियो । सङ्गीत प्रशिक्षण गर्छु । गीतहरू कम्पोज गर्छु । त्यसबाट केही पैसा आउँछ । सङ्गीत संयोजन पनि गर्छु ।” कुँवरले आफ्नो साङ्गीतिक पेशाबारे खुलाउनुभयो ।

कुँवरबाट सङ्गीतका क्षेत्रमा यस्ता काम भए
वैज्ञानिक कुँवरले केही लोकगीत, केही आधुनिक गीत, केही अन्य विधाका गीतहरूमा सङ्गीत दिनुका साथै एरेन्जसमेत गर्नुभएको छ । उहाँसँग गायन, हारमोनियम, गितार, किबोर्ड, तबला, मादल, सारङ्गी, कम्पोज आदि विषयमा धेरै प्रशिक्षार्थीलाई प्रशिक्षण दिएको अनुभव पनि रहेको छ ।

सङ्गीतमा पनि कुँवरले नयाँनयाँ प्रयोग गर्न रुचाउनुहुन्छ । लक्ष्मीप्रसाद देवकोटाको “घनघोर दुःख सागर संसार जान भाइ” भन्ने पहिलो रचनालाई जम्मा ४ वटा सुर र ४÷४ बिट (फोरफोर बिट) लाई मात्र आधार बनाएर ४ हजार ४ सय ४४ प्रकारले सङ्गीत गर्ने भन्दै काम थाल्नुभएको थियो । तर विज्ञान र अन्य क्षेत्रका कामको चापले गर्दा त्यस गीतलाई जम्मा ४ सय ४४ प्रकारले मात्र सङ्गीत गर्न समय मिल्न पुग्यो ।

त्यसरी चार सय ४४ प्रकारले सङ्गीत गरिएका रचनामध्ये ४ वटा रचना १०५ औँ देवकोटा जयन्तीका अवसरमा सुनाइएको थियो । बाँकी चार सय ४० वटा रचनाको भने लेख्यलिपिमात्र छ । ती ४ वटा भाकामा अन्जान बाबुको स्वर रहेको थियो ।
कुँवरले सङ्गीत गरेका गीतमा राजेश पायल राई, नरहरि प्रेमि, निशा देसार, अन्जान बाबु, देवी घर्ती, इन्दु बानियाँ, सिता पाइजा, बिजुला बानियाँ, भरत भट्ट, सुनिता लोप्चन, कृष्ण अधिकारी, अर्जुन श्रेष्ठ, सङ्गीता थापा, समीक्षा अधिकारी, देवी थापा, सुदिप जोशी, लक्ष्मण सापकोटा आदि कलाकारले स्वर दिनुभएको छ ।

सङ्गीतका क्षेत्रमा पनि अनुसन्धान गर्न रुचि
कुँवरले सङ्गीतसँग सम्बन्धित अनुसन्धान पनि गर्नुभएको छ । ज्ञानगङ्गा पिअर रिभ्युड जर्नलमा प्रकाशित अनुसन्धान लेखमा पूर्वीय तथा पाश्चात्य सङ्गीतलिपिको तुलनात्मक अध्ययन गरी तिनमा भएका शक्ति र सीमा निर्धारण गर्ने कार्य गरिएको छ । सोही लेखमार्फत् कुँवरले गोमन सङ्गीतलिपि (कोब्रा नोटेशन) प्रस्तुत गर्नुभएको छ ।

गोमन लिपिबारे केही समयपहिले राससले समाचार समेत प्रकाशित गरेको थियो । यो लिपि नेपालमा आविष्कार गरिएको नयाँ सङ्गीत लिपि हो । उक्त लिपिमा स्टाफ नोटेशन र भातखण्डे लिपिमा भएका रिक्ततालाई औँल्याउने र नवीन शैलीबाट पूर्णता दिने कार्य गरिएको छ ।

नेपालमा प्रचलित गन्धर्व परम्परामा भने भिन्नै प्रकारको सङ्गीत लिपि प्रचलित रहेको छ । उक्त लिपिबारे छोटो चर्चा गर्ने कार्य पनि उक्त लेखमा भएको छ । उक्त गन्धर्व परम्परामा आधारित लिपिलाई भने कलाकार जयनन्द लामाले पुस्तकाकारमा प्रकाशन गर्नुभएको छ ।

वैज्ञानिक अनुसन्धानबाट खर्च चल्नुपर्ने अपेक्षा
वैज्ञानिक कुँवरमा गायक बन्ने रहर पनि छ । तर धेरै विकल्पहरू हुनु पनि आफैमा समस्या हुने बुझाइ वैज्ञानिक कुँवरको रहेको छ ।सङ्गीतका क्षेत्रमा पनि थप अनुसन्धान गर्ने सोँच राख्नुहुने कुँवरले विज्ञानको अनुसन्धानलाई समय दिँदा सबै रहर पूरा हुन समस्या हुन सक्ने सम्भावना भने रहेको स्वीकार गर्नुहुन्छ ।

“आफैले पनि जानीनजानी केही गीत गाऔँ कि भन्ने लाग्छ । तर गाउने सोँच बनिहालेको छैन । केवल शब्द रचना गर्ने, कम्पोज गर्ने र संयोजन गर्ने कार्यलाई निरन्तरता दिने कार्य भइरहेको छ ।” कुँवरले गाउने रहर व्यक्त गर्दै भन्नुभयो ।
“विकल्प धेरै हुनु समस्या हुने रहेछ । त्यसैले धेरै कुरा सोचेजसरी अघि बढ्न सकेका छैनन् । सङ्गीतलाई पेशा बनाएर यसकै आधारमा विज्ञानको कामलाई अघि बढाउने योजनावमोजिम चलेको हुँ ।” कुँवरले नेपालको वैज्ञानिक अवस्थाको झल्को दिनुभयो ।

वैज्ञानिक अनुसन्धान गरेर चल्ने स्थिति भएमा एउटै विषयक्षेत्रतिर लाग्ने सङ्केत गर्दै कुँवरले भन्नुभयो, “तर नेपालमा वैज्ञानिक अनुसन्धानबाट मात्र पनि जीवन निर्वाह हुने स्थिति बन्न आवश्यक छ ।”

Leave a Reply