आगलागी र डढेलोजन्य प्रकोप हिउँद यामसँगै फैलिएर ठूलो विपत्ति निम्त्याइरहेको र त्यसबाट कसरी जोगिने भन्नेमा अन्तर्राष्ट्रिय अनुभव तथा अभ्यास सिक्न विज्ञहरू नै नेपाल झिकाइन लागेको छ।

अष्टेलियाका दुई जना डढेलो विज्ञलाई बोलाएर राष्ट्रिय विपत् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणले यस्तो अभ्यास र अनुभव लिने योजना तय गरेको हो।

आगलागी, डढेलोको क्षति न्यूनीकरणको लागि पूर्व तयारी कसरी गर्ने, आगलागी र डढेलो लागेपछि कसरी नियन्त्रण गर्ने भन्नेमा अन्तर्राष्ट्रिय अनुभव ज्ञान लिन आवश्यकता देखिएपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसमा चासो राख्दै पहल गरेको हो।

नेपालमा डढेलो र आगलागीबाट भएको क्षतिको वस्तुगत र उचित साथै वैज्ञानिक विधिबाट गहन, सूक्ष्म अध्ययन, अनुसन्धान र मूल्याङ्कन समेत नभएको विज्ञहरूले बताउँदै आएका छन्।

डढेलो र आगलागीका घटनाको पूर्व तयारीका साथै नियन्त्रण कार्य, क्षतिको आङ्कलन लगायतमा अमेरिका, अष्टेलिया र क्यानडा लगायतका विकसित मूलकका विधि र प्रविधिलाई मात्रै सबै मुलुकले स्वीकार गर्दै आएका छन्।

ती मुलुकहरू आगलागी र डढेलो नियन्त्रणमा स्रोत साधन र प्रविधिले सक्षम मानिन्छन्। नेपालमा आगलागी र वन डढेलोबाट भएको क्षतिको अध्ययन, अनुसन्धान र त्यसको मूल्याङ्कन गर्ने, नियन्त्रण र रोकथामका लागि प्राविधिक ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले अष्टेलियाबाट दुई जना डढेलो विज्ञहरू एक वर्षको लागि अगामी मे महिनामा नेपाल आउने भएका हुन्।

उनीहरू अष्टेलिया दूतावासको प्राविधिक सहयोग अन्तर्गत सरकारको आग्रहमा विपत् व्यवस्थापन प्राधिकरणमै रहेर प्राविधिक ज्ञान, सिप कर्मचारी र प्राविधिक दुवैलाई निःशुल्क हस्तान्तरण गर्ने अधिकारीहरूको भनाइ छ। उनीहरू सात महिना नेपालमै रहेर र बाँकी अवधि अनलाइनबाटै ज्ञान सिप हस्तान्तरण गर्नेछन्।

‘आगलागी र डढेलोबाट क्षति कति भयो ? क्षति कसरी अध्ययन गर्ने ? कसरी मूल्याङ्कन गर्ने लगायतमा हामी कहाँ खाडल छ, त्यस्तो प्राविधिक ज्ञान र सिप साथै उचित विधि सिकाउने छन्’, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलो विज्ञ सुन्दर शर्माले भने।

‘यस्तो अभ्यास नेपालमा अहिलेसम्म भएको थिएन। दक्षिण एसियामै नेपालले आगलागी र डढेलो नियन्त्रणका लागि नमुना बन्ने प्रयास स्वरूप यो काम गर्न लागेको गरेको हो’, उनले भने। उनीहरूको मुख्य उद्देश्य नै प्राविधिक ज्ञान र सिप नेपाललाई हस्तान्तरण गर्नु रहेको उनले प्रष्टयाए।

नेपालमा आगलागी साथै डढेलो नियन्त्रण र त्यसको क्षतिको मूल्याङ्कन परम्परागत रूपमा हुँदै आएको छ। त्यसलाई अन्तर्राष्ट्रिय निकायले नमान्ने अवस्था छ। त्यही कारणले यस्ता ठूला विपत्मा पनि अन्तर्राष्ट्रिय निकायबाट नेपाललाई आर्थिक सहयोग र समन्वय हुन नसकेको विज्ञहरू बताउँछन्।

आगलागी र डढेलोका घटना बर्षेनी बढ्दा मानवीय, भौतिक साथै पर्यावरणीय नोक्सान पुग्ने गरेपनि पूर्व तयारी र नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन।

डढेलोकै कारण प्रत्येक वर्ष वायुमण्डल, जलाधार क्षेत्र पारिस्थितिकी प्रणालीको गुणस्तरमा ह्रासकै कारण विनाशकारी असरहरू देखा पर्न थालेको जानकारहरू बताउँछन्। मानवीय र भौतिक वस्तुमा पुगेको क्षति भन्दा सयौँ गुणा महँगो मूल्य सरकारले चुकाउनु परि रहे पनि त्यसको आङ्कलन गर्दै जोखिम नियन्त्रण र पूर्व तयारीमा भने सरकार उदासीन बनेको जानकारहरू बताउँछन्।

गत ०७९ चैत्र १३ देखि ०८० चैत्र १३ को यो एक वर्षको अवधिमा डढेलो र आगलागीबाट १ सय १० जनाको ज्यान गएको र साढे दुई अर्ब रुपैयाँको भौतिक नोक्सानी भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। nagariknews.com

Leave a Reply