नेपालमा कृषि र पशुपालनमा सरकारी अनुदान हत्ताउन राजनीतिक पहुँच, नातावाद हावी हुन्छ । अनुदान लिएर पशुपालन सुरू गरेका धेरैका गोठ अनुदान सकिएपछि रित्तै हुन्छन् । कागजका योजनामा अनुदान पचाउनेलाई प्रोत्साहन गर्ने सरकारी निकायका गलत अभ्यासलाई खाडीमुलुक कतारले छिमेकी राष्ट्रको नाकाबन्दीपछि दूग्ध पदार्थमा आत्मनिर्भर बनाउन सुरू गरेको गाई पालन मिठो उदाहरण बन्न सक्छ ।

खाडीमुलुक कतारले संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन लगायतका अरबी मूलुकको नाकाबन्दीपछि दूग्ध पदार्थको लागि छिमेकी देशको भर नपरी आन्तरिक रुपमै पशुपालनमा संसारलाई नै देखाउने गरी आत्मनिर्भर बन्यो । नाकाबन्दीबाट छिमेकीले दिएको दबाबले अहिले कतार दुग्ध उत्पादनमा आत्मनिर्भर मात्रै भनेको छैन् विदेशमा समेत निर्यात गर्न थालेको छ । दोहाबाट करिब ५० किलोमिटर उत्तरमा अवस्थित बलदना फार्ममा २४ हजार गाईबाट कतारभित्र मात्रै नभई विश्वबजारमा समेत निर्यात गर्न थालेको छ ।

कतारमा ठूला ठूला मलहरु बनाउँदै आएको कन्स्ट्रक्सन कम्पनी पावर इन्टरनेशनल होल्डिङका मालिक मोताज अल खयातको नेतृत्वमा रहेको सात सदस्यीय टिमले कतारमा डेरी उत्पादन कम्पनीमार्फत सुरु गरेको अभियानले अहिले डेरी प्रोडक्टहरुको बिक्री मात्रै नभई विदेशीलाई घुम्न जाने ठाउँ समेत बनेको छ ।

४ हजार गाइहरुबाट सुरु भएको बलदना फार्ममा अहिले २४ हजारभन्दा बढी गाईहरु छन् । फार्ममा दैनिक सयौंको संख्यामा विदेशी पर्यटक समेत अवलोकन गर्न पुग्छन् भने आसपासमा पर्यटकको बसाई लम्बाउने विभिन्न संरचनाहरु समेत तयार गरिएको छ ।

फार्म भित्र दूध दुहुन मानिसको प्रयोग हुदैन । मेसिन गाईको थुनमा जोडिदिन्छन् । मेसिन थुनको टुप्पामा छुवाउँछन्, तब बाच्छाले मुखले तानेझैं मेसिनले थुनलाई च्याम्प समातेर चुस्न थाल्छ । दूध ह् वारहार्ती र्झदै पाइपमा जम्मा भएर ट्याङ्कीमा पुग्छ । पर्यटकले समेत गाईको दुध मेसिनले तानिरहेको दृष्य हेर्न पाउँछन् ।

दूध सकिएपछि मेसिन थुत्नु पर्दैन फुत्रुक्क आफै र्झछ । कम्प्युटरकृत भएकाले दुहुने स्थानमा केही जनशक्ती बाहेक चाहिदैन । फार्म भित्र पुगेकाहरुलाई त्यहाँको दृष्यले निकै लोभ्याउने गरेको म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले बताए ।

गाईलाई पनि लैनो, बकेर्नो, ब्याउने, बिरामी, थोरै दूध दिने, धेरै दिने सबै छुट्टाएर राखिएको छ । कुल गाईको संख्या भने ३० हजारभन्दा बढी भएपनि दुहुनो गाई २४ हजारको हाराहारीमा रहेको तथ्याङ्क नै त्यही राखिएको छ । कतारमा दूधको घरेलु माग आन्तरिक स्रोतबाटै पूरा भएको छ भने विभिन्न परिकारहरु विश्वबजारसम्म पुग्ने गरेको छ ।

सन् २०२२ मा कतारमा विश्वकप फूटबलको आयोजनामा समेत पुग्ने धेरै विदेशी यहाँ पुगेर अवलोकन गरेका थिए । मरुभूमिको देश कतार ‘भिजन २०३०’ अनुसार सन् २०३० सम्ममा खाद्यान्नमा आत्मनिर्भर हुने योजना कार्यान्वयनमा लागेको मोना कतारका पूर्व अध्यक्ष तिलु शर्मा पौडेलको भनाई छ ।

संसारकै सबैभन्दा धेरै प्रतिब्यक्ति आय भएको मुलुक कतारका नागरिकहरुले नाकाबन्दीलाई चुनौतीको रुपमा लिएर आत्मनिर्भर भएको सन्देश नेपालले पनि सिक्न सक्छ । कृषि र पशुपालनमा दलिय पहुँच, नाताबाद, कृपाबादमा अल्झिएको नेपालको पशुपालनलाई कतारका एक कम्पनीले देशलाई नै दुग्धपदार्थमा आत्मनिर्भर बनाउन गरेको प्रयास गतिलो पाठ र नेपाली पशुपालक कृषकलाई मिठो सन्देश बन्न सक्छ ।

 

Leave a Reply