पर्वतको जलजला गाउँपालिका-२, मल्लाजको दहमा सोमबार राति एक दम्पतीको हत्या भएको छ । अज्ञात ब्यक्ति वा समुहले ६९ वर्षीय सूर्यबहादुर जिसी र ६७ वर्षीया श्रीमती गमला जिसी घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् । सोमबार राती घर नजिकै आगलागी निभाएर घरमा पुगेका जिसी दम्पत्तीको मंगलबार विहान करिब ८ बजे आफन्तले घरभित्र मृत अवस्थामा भेटेका थिए ।

दम्पत्तीको हत्या गरी बाहिरबाट चाबी लगाएर भागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । मंगलबार विहान घरमा भेट्न आएका आफन्त, म्याग्दीको सदरमुकाम बेनीस्थित अस्पताल चोकमा फेन्सी ब्यवसाय गर्ने जेठो छोरा रबिन जिसी घरमा पुग्दा जिसी दम्पत्ती रगताम्मे अवस्थामा भेटिएको स्थानीयबासीले बताएका छन् ।

घटनामा संलग्नले बाहिरबाट प्रवेश गरी धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुन सक्ने वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले बताए । ‘घटनास्थलमा प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ, घटना रहस्यमय छ’ वडा अध्यक्ष घर्ती क्षतीले भने ।

सोमबार राती करिब ९ बजे घर नजिकै आगलागी भएको अवस्थामा सूर्यबहादुरले आगलागीका बारेमा फोन गरी जानकारी गराएको बताए ।

‘घरनजिकै आगोलागी भएको छ भन्दै फोन गर्नुभएको थियो,त्यसपछि घटना भएको देखिन्छ’ वडाअध्यक्ष घर्तीक्षत्रीले भने । मृतक सूर्यबहादुरको घर नजिकै अरु घर नभएकाले पनि घटनामा संलग्न भएकाहरु भाग्न सफल भएको देखिन्छ । मृतक सूर्यबहादुरको शब खाट र गमलाको भुईमा छ ।

घटनास्थलमा जलजला गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषाल सहितको टोलीले अनुसन्धान सुरु गरेको छ ।

कस्ले र किन उनको हत्या गरे भन्ने बिषयमा अहिले अनुसन्धान भइरहेको प्रनाउ भुषालले बताए । ‘हामी अनुसन्धानमै छौ,फरेन्सिक टीम बोलाइएको छ, शवलाई घटना मुचुल्का गरी जिल्ला अस्पताल म्याग्दीमा लगिने छ,त्यहाँ चिकित्सहरुको टोलीले पोस्टमार्टम गरेपछि मात्रै विस्तृतमा भन्न सकिन्छ,’ प्रनाउ भुषालले भने । उनका अनुसार हत्यामा संलग्न छिट्टै पत्ता लाग्ने र उनीहरुलाई कानुनी दायरामा ल्याउने बताए ।

प्रहरीले घटनास्थलमा अपराधिका कुनै तथ्यप्रमाणहरु समेत भेटाउन सक्ने भन्दै खोजीकार्य गरेको छ । घटनामा गण्डकी प्रदेशबाट अनुसन्धान टोली सहित तालिम प्राप्त कुकुरलाई समेत पठाइएको छ ।

’तालिम प्राप्त कुकुरको टोली घटनास्थल पुग्दैछ,घटनामा टेक्निकल अनुसन्धान हुन्छ’ अनुसन्धानमा खटिएको टोलीले भन्यो । मृतक जिसी दम्पत्तीको तीन छोरामध्ये माइलो र कान्छा रोजगारीका लागि दक्षिण कोरिया छन भने जेठो छोरा म्याग्दी बेनीमा फेन्सी ब्यवसाय गर्छन् ।

Leave a Reply