पर्वतको जलजला गाउँपालिका-२,मल्लाजको दहमा हत्या भएको एक दम्पतीको शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा लगिएको छ । सोमबार राति भएको हत्यामा जिल्ला प्रहरी कार्यालय पर्वत र गण्डकी प्रदेशबाट खटिएको अनुसन्धानको टोलीको अनुसन्धान, मुचुल्का उठाएर पोष्टमार्टमका लागि बेनी अस्पतालमा पठाइएको जलजला गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश जिसीले बताउनुभयो।

घटनास्थलको अनुसन्धानमा प्रहरीको टोली जुटेको छ । विहान साढे ८ बजेदेखि साँझ ६ बजेसम्म प्रहरीको टोली घटनास्थलमै थियो । घटनामा संलग्न अभियुक्तको पहिचानका लागि नेपाल प्रहरी केनाइन गण्डकी प्रदेशबाट ल्याइएको तालिमप्राप्त कुकुरको समेत प्रयोग भएको छ । घटनास्थलदेखि कुकुरलाई विभिन्न क्षेत्रमा पुर्याइएपनि घटनामा संलग्न अपराधिको पहिचान नहुदाँसम्म गोप्य राख्ने जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय म्याग्दी, गलेश्वरमा रहेको शसस्त्र प्रहरी बलको टोली समेत पुगेको थियो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्याको कारण तथा संलग्नको खोजीकार्यलाई तिब्रता दिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। मंगलबार बिहान म्याग्दीको सदरमुकाम बेनीको अस्पताल चोकमा बस्ने जेठो छोरा रबिन जिसीले घरमा बुवा आमालाई फोन गर्दा नउठेपछि घरमा पुग्दा घरको ढोकामा बाहिरबाट ताला लगाएको र ढोका फुकालेर हेर्दा बुबा आमा मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खवर गरिएको थियो ।

घटनाको अनुसन्धान र छानबिन गर्न पर्वतका प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो । घरमा सूर्यबहादुर र उहाँका श्रीमती गमला जिसी मात्र बस्ने गरेको र सोमबार बेलुका साढे आठ बजेको समयमा सूर्यबहादुरले वडा अध्यक्ष जिसीलाई फोन गर्नुभएको थियो। मृतक जिसीका २ छोरा वैदेशिक रोजगारीको क्रममा कोरिया र एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आउनुभएको छ।

हत्याको घटना हेर्दा रहस्यमय देखिन्छ। प्रहरीलाई अनुसन्धानको बाटो पहिल्याउन समस्या हुन नदिन गण्डकी प्रदेशमा प्रहरीसँग भएका तालिम प्राप्त कुकुरले लिएर आएपछि घरको चाबी लगाएर भागेका अभियुक्तले हसिँया सहित फालेको चाबी भेटिएको छ। हत्यामा प्रयोग गरिएको हसिँया कुकुरले पत्ता लगाएको थियो ।

Leave a Reply