म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अपाङ्गता भएकाहरुलाई मंगलबार परिचयपत्र र सहायता सामग्री वितरण गरिएको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो।गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको धारापानीका खिमकुमारी उपाध्यायले बताउनुभयो ।

शिविरमा ३६ जनालाई अपाङ्गता भएकालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका कर्मचारी देव पुनले बताउनुभयो । २ जनालाई (क), २७ जनालाई (ख), १ जनालाई (ग) र ६ जनालाई (घ) वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

१ वटा एल स्टिक, २९ जनालाइ (लठ्ठ्ठी), २ जनालाई बेल, ३ जनालाई वैशाखी, ४ जनालाई बलाइन्ड स्टिक, ह्वाइट क्यान २ जनालाई, कमोड चियर ३ जनालाई वितरण गरिएको छ । यसअघि मराङमा सोमबार भएको घुम्ति शिविर मार्फत ६ जना पुरुष र ४ जना महिलालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको थियो ।

यसैगरी १४ थान एल स्टिक, २ थान ह्वाइट केन, १ थान कम्बोट चियर र १ थान बैशाखी वितरण गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, बेनी अस्पतालका चिकित्सक डा. रोशन आचार्य, वडा अध्यक्ष अशोक खत्री, स्वास्थ्य शाखाका सहसंयोजक अनिशा आचार्यले परिचयपत्र र सहायता सामग्री वितरण गर्नुभएको थियो ।

वडा नम्बर ४ मुदीमा बुधबार घुम्ति शिवर मार्फत अपाङ्गता परिचयपत्र र सहायता सामग्री वितरण गरिने उपाध्यक्ष पुनले बताउनुभयो । अपाङ्गता भएकाहरुबाट माग संकलन गरेर आवश्यक सहायता सामग्री वितरण गरिएको उहाँले बताउनुभयो।

वडामै निवेदन संकलन गरि अपाङ्गता समन्वय समितिको बैठक बसेर निर्णय गरि परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष पुनमगरले अशक्तहरुलाई झञ्जटरहित तरिकाले परिचयपत्र उपलब्ध गराउन वडामा पुगेको बताउनुभयो ।

अपाङ्गता भएका नागरिकहरुले परिचयपत्रको आधारमा सार्वजनिक यातायात लगायत क्षेत्रमा पाउनुपर्ने छुट सुविधा नपाएको विषयमा गाउँपालिकासँग गुनासो गरेका थिए ।

Leave a Reply