म्याग्दीको बेनी नगरपालिका-८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र ५ महिना नबित्दै उप्किएको छ। सडकखण्डमा कालोपत्र उप्किएपछि सडकमा सानासाना खाल्डा परेका छन्। कालोपत्र उप्किएपछि दिउँसोको समयमा सवारीसाधनलाई आवतजावतमा समस्या हुने गरेको छ । गत पुस महिनामा २४ महिनाको ठेक्का एक बर्षमै सकिएपछि निर्माण ब्यवसायीको चौतर्फी प्रशंसा भएको थियो ।

उप्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरिएपछि अहिले ठेकेदारले मर्मत गर्न थालेका छन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गतपर्ने सडककालोपत्र उप्किएको गुनासो आएपछि मर्मतका लागि ठेकेदारलाई निर्देशन दिइएको आयोजना प्रमुख धुब्रकुमार झाले बताए । ‘निर्माण ब्यवसायीले तुरुन्तै काम गर्नुपर्छ, बिग्रिएको स्थानको पहिचान गरी सम्झौता अनुसार नै मर्मत गर्नुपर्छ’ प्रमुख झाले भने ।

दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मंगलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट÷पीएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो। पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेपछि बेनी नगरपालिका सहित संघसंस्थाले समेत निर्माण ब्यवसायीलाई सम्मान गरेका थिए ।

म्याग्दीमा अन्य आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई चुनौती बनेको बेनी–गलेश्वर खण्डमा कालोपत्र उप्किएपछि अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।

Leave a Reply