श्रीमान र श्रीमती भनेको एक रथका दुईपांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको जीवनमा भोगेका यथार्थ भोगाइहरुदेखि सफल हुनुमा दुवैको महत्वपूर्ण भूमिका रहेको छ । श्रीमानको ब्यवसायमा श्रीमतिले पनि साथ दिदाँको सफलताको एक उदाहरण बनेका छन म्याग्दी बेनी नगरपालिका-६,बाँसबोटका दुर्गाप्रसाद पौडेल र हिमकुमारी पौडेल ।

२२ वर्षपहिला ऋण खोजेर दुई वटा भैँसीबाट पशुपालन व्यवसायमा प्रवेश गरेका दुर्गा र हिमुकमारीले कोरोनाको समयमा मासिक ६० हजार घाटा हुदाँ, लैनो भैसी भकारोमै मर्दादेखि अनेक अवरोधलाई समेत थिचोल्दै आफुँलाई म्याग्दीको नमुना पशुपालक दम्पत्तीको परिचय स्थापित गरेका छन् ।

करिब १ करोड ५० लाखभन्दा बढी लगानीमा पशुपालनमा लागेकोमा परिवारका अन्य सदस्यको साथले समेत झनै सहज भएको छ । पौडेलको वरदान पशुपन्छी फार्ममा ३२ वटा मुर्रा जातका भैँसी र ३ वटा गाईबाट दैनिक २ सय ३० लिटरसम्म बेनी बजारमा बिक्री हुन्छ ।

श्रीमतिले गोठमा र श्रीमान मजदुरले दुध दुहुने सघाउने गरेका छन् । म्याग्दी बहुमुखी क्याम्पस पढ्ने दुई छोरीले पनि दिउँसो र बेलुका बुबालाई सघाएर विहानै क्याम्पसमा पढ्न जान्छन् ।

दुर्गा र हिमुकमारीको भैँसीपालनबाट पौडेल परिवार खुसीसँगै आर्थिक रुपमा पनि सन्तुष्ट छन् । जिल्लामै नमुना किसानको परिचयसँगै मासिक ७ लाखको हाराहारीमा दुध बिक्री गरी खर्च कटाएर १ लाखबढी बचत गर्ने गरेको पौडेलले बताए ।

‘पशुपालनमा लागेपछि मात्रै प्रगति भयो, जागिरले खान पनि पुग्दैन थियो, अहिले दुध बेचेर परिवारको चाहना पूरा गर्न सक्ने भएको छु’ पौडेलले बताए । उनले दूध बेचेर भएको आम्दानीबाट चार जना छोराछोरीको पढाई र घरव्यवहार चलाउँदै जग्गा समेत किनेको बताए ।

कृषक पौडेलले सदरमुकाम बेनीबजारमा रहेको बेनी आवासीय माविमा १४ वर्षसम्म सहयोगीको रुपमा काम गरेका थिए । विद्यालयमा सहयोगी र पशुपालनमा सँगै लागेका दुर्गाले श्रीमतिको अनुरोधमा जागिर छोडेर पशुपालनमै केन्द्रित भएपछि चारगु्णा बढी कमाई भएको अनुभब छ ।

भैसीपालन गर्ने क्रममा हिउँदमा पर्याप्त घाँस नपाउने समस्या ब्यहोरेका कृषक पौडेलको भनाई छ । मोटरसाइकलमा दुधका क्यान राखेर बिहान र बेलुका गरी दिनमा दुई पटक बेनी बजारमा दुध लैजाने गरेका दुर्गाप्रसादलाई बजारको समस्या छैन् । भकारोबाटै क्यानमा हालेर सिधै उपभोक्ता र डेरीमा लैजाने गरेकाले दुर्गाप्रसादलाई ग्राहकले नै खोजी खोजी दुध माग्ने गरेका छन्

भारतमा मजदुरी गरी फर्किदा रित्तै आएका दुर्गाप्रसादले जागिर र ऋण खोजेर सुरु गरेको पशुपालनमा गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १३ लाख रुपैयाँ अनुदानबाट व्यवस्थित गोठ निर्माण गरेका छन्। पानीरहित दुध बेनीमा १२० रुपियाँमा बिक्री हुने गरेको छ । पौडेलका फार्ममा डेढ लाख देखि दुई लाख असी हजार रुपियाँ मूल्य पर्ने भैँसी छन्। सरदरमा एउटा भैँसीले सातदेखि १० लिटरसम्म दुध दिने गरेको छ ।

आयातित पछिल्लो समय दाना र पराल महँगो भएकाले अहिले करिब ८ रोपनी जग्गा भाडामा जग्गा लिएर घाँस रोपेका छन् भने मल बेचेर समेत राम्रो आम्दानी गरिरहेका छन् ।बैदेशिक रोजगारी, स्थानीयस्तरमा जागिरपछि पशुपालनमा लागेका दुर्गाप्रसादलाई श्रीमति हिमकुमारीको काँध र परिवारको साथले ब्यवसायीक सफलता मिलेको छ ।

Leave a Reply