बेनी नगरपालिकाको बगरफाँट र भकिम्लीको सामुदायिक वन लागेको आगो नियन्त्रण बाहिर गएको छ । बेनी नगरपालिका-२ बगरफाँट गाउँको शिरानमा रहेको उडाइनो झरना र कोप्रे झरना आसपासका क्षेत्रबाट फैलिएको आगो नियन्त्रण बाहिर गएको हो ।

मंगलबार दिउँसोदेखि सुरू भएको आगलागीले बेनपा-२ बगरफाँट र बेनपा-३ भकिम्लीका लरेनी, बिरखानी लगायत आसपासको वनभरी आगो फैलिएको भकिम्लीका धन श्रीषले बताए । ‘आगो नियन्त्रण बाहिर छ, मानवीय प्रयासमा नियन्त्रणको सम्भावना छैन, धुँवाको मुस्लोले बस्तीमा बस्नै गाहे भएको छ’ श्रीषले भने ।

वनबाट बस्तीमा आगो पस्न सक्ने खतरालाई मध्यनजर गरी भकिम्लीको तल्लो क्षेत्रका बस्तीहरुमा सर्तकता अपनाउन अनुरोध गरिएको वडा अध्यक्ष पदमबहादुर पुनले बताए । आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ। हावाका कारण आगो सल्किएको छ । कसरी आगो लाग्यो भन्ने यकिन भएको छैन् ।

आगलागीले ससाना विरुवा र बुट्यानहरू नष्ट हुनुका साथै वन्यजन्तु र चराचुरुंगीका वासस्थान नासिएका छन् । म्याग्दी जिल्लामा विभिन्न सामुदायिक बनमा लागेको आगो स्थानीय उपभोक्ताले निभाउने प्रयास गरे पनि साधनस्रोत र जनशक्तिको अभावले समस्या भएको बताइएको छ ।

म्याग्दीमा आगलागीले सदरमुकाम बेनीबजारसँगै जोडिएको बराहपाखो सामुदायिक वन सहित जिल्लाभरका सामुदायिक तथा सरकारी वनजङ्गल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नाङ्गो देखिन थालेका छन् । हरेक वर्ष नयाँ घाँस पलाउने आसमा डढेलो लगाउने गरिएको तथ्याङ्कले देखाउँछ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठीन हुने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

आगलागीका घटनामध्ये ७० प्रतिशत मान्छेकै कारण भएको पनि कार्यालयको ठहर छ । वन ऐन, २०७६ को दफा ५० को उपदसफा ४ बमोजिम वनजङ्गलमा आगलागी गर्ने कार्यलाई फौजदारी अभियोग मानिने र यस्तो कार्य गर्नेलाई तीन वर्ष कैद, ६० हजार जरिवाना र दुवै सजायसमेत हुनसक्ने कानुनी व्यवस्था छ ।

जिल्लामा दिनहुँ वन क्षेत्रमा मानवीय हेलचेत्रयाइँका कारण डढेला लाग्ने गरेको भए पनि यस्ता घटनामा संलग्नको स्थानीयस्तरबाट वास्तविक सूचनान आउँदा अनुसन्धान र कारबाही गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Reply