मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर (३८००मि) दर्शन गर्न जाने तीर्थयात्री र घुमघामका लागि पुगेका पर्यटकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ। छोटो समयमा उच्च भेग पुग्दा लेक लाग्ने जोखिम बढेपछि पर्यटकको स्वास्थ्य परीक्षण गर्न थालिएको हो।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार पर्यटकका लागि आयोजित शिविर एकसाता चल्नेछ। यो बेला मुस्ताङमा आन्तरिक र भारतीय तीर्थयात्रीको अधिक भीडभाड छ। उनका अनुसार सोमबारको औंसीका लागि धेरै आन्तरिक तीर्थयात्री मुस्ताङ उक्लेका छन। त्यस्तै मुक्तिनाथ दर्शन गर्न पनि ठूलो संख्यामा भारतीय तीर्थयात्री मुस्ताङ गएका छन। उनका अनुसार सोमबार एकैदिन मुस्ताङमा आन्तरिक र भारतीय गरि झन्डै नौहजार तीर्थयात्री पुगेका छन। एकैदिन पुगेका पाहुनाको कारण मुस्ताङमा चहलपहल बढेको उनले बताए।

यो बेला मुक्तिनाथ पुगेका ती कोही पनि तीर्थयात्री र अरु पर्यटकलाई लेक लाग्ने जोखिम नहोस भनेर स्वास्थ्य शिविर राखेको डिएसपी पाण्डेले बताए। उनका अनुसार गण्डकी प्रदेश प्रहरी अस्पताल र जिप्रका मुस्ताङको आयोजनामा एकसाताका लागि आयोजित शिविरमा पर्यटकको स्वास्थ्य परीक्षण गर्नेगरि अस्पतालबाट दुइजना चिकित्सक पनि मुस्ताङ गएका छन।

‘यतिबेला आन्तरिक तीर्थयात्री पनि छन । त्यस्तै भारतीयको संख्या पनि उच्च छ,’ डिएसपी पाण्डेले भने, ‘ती कोही पनि पर्यटकको स्वास्थ्यमा जोखिम नआओस भनेर शिविर राखेका हौ। हरेक पर्यटकको स्वास्थ्य परीक्षण गरेका छौं। एकैदिन झन्डै नौ हजार पर्यटक भित्रिँदा यहाँ भीडभाड छ।’

उनका अनुसार पहिलो दिनको शिविरमा ४० जना पुरुष र ३० जना महिला गरि ७० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। ‘धार्मिक यात्रामा निस्केको हुनाले कोही पनि पर्यटकलाई स्वास्थ्यमा समस्या नहोस भनेर सजग बनाउने गरि स्वास्थ्य परीक्षण थालेका हौ,’ उनले भने।

उनका अनुसार चिकित्सले शिविरमा पर्यटकको शरिरमा अक्सिजन तह मापन गर्ने, दम, उच्च रक्तचाप, मधुमेह लगाएको अवस्थाबारे बिरामीको परीक्षणमा ध्यान दिएका छन। ‘लेक लाग्ने जोखिम जो कोहीलाई पनि हुनसक्छ। दीर्घरोगीलाई अझ बढी समस्या पर्छ। धार्मिक यात्री भएकोले उनीहरुको स्वास्थ्यमा कुनै समस्या नआओस भनेर यो अभियान चलाएका हौ,’ उनले भने, ‘आवश्यक परे बिरामीलाई औषधि पनि दिइएको छ। सम्भावित जोखिममा रहेका बिरामीलाई आराम गर्न लगाएर मात्र मुक्तिनाथ मन्दिर उक्लिन अनुरोध गरेका छौं।’

मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको लेक लागेर ज्यान जान थालेपछि सचेत बनाउनका लागि यो अभियान थालेको उनले बताए। डिएसपी पाण्डेका अनुसार पछिल्लो अढाई वर्ष अवधिमा लेक लागेर मुस्ताङमा मात्र २७ जनाको ज्यान गएको छ। ती मध्ये सबैभन्दा बढी भारतीय १९, नेपाली ६, युक्रेन र थाइल्याण्डका एक–एकजना रहेको उनले बताए।

ज्यान गुमाउने नेपाली र भारतीय मुक्तिनाथ दर्शनकै क्रममा बिरामी परेका थिए। अढाई वर्षमा ज्यान गुमेका २७ जना मध्ये १४ जना महिला र १३ जना पुरुष रहेको पनि उनले बताए। ‘मुक्तिनाथ दर्शन गर्न नभई ज्यानै फाल्न आएजस्तो हुन थालेको छ। यसले ती पर्यटकका आफन्त र समूहलाई पनि खल्लो बनाएको छ,’ उनले भने।

लेक लाग्ने घटना लगातारजसो घटना हुन थालेपछि प्रहरीले जोमसोम प्रवेशको नाका घाँसा र जोमसोममा पर्यटक प्रहरीमार्फत सचेतनाका कार्यक्रम पनि गर्दै आएको छ। घाँसामा प्रहरी र जोमसोममा पर्यटक प्रहरीले पर्यटक सवार गाडीमै चढेर स्वास्थ्यमा समस्या भए परीक्षण गराएर मात्र मुक्तिनाथ जानु भनेर सल्लाह दिने गरेको पनि उनले बताए।

‘कम्तिमा एकरात जोमसोममा बास बस्ने हो भने यो समस्या केही कम हुनसक्छ। तर, अहिले सडकको सहजताका कारण पर्यटक एकैदिनमा दौडादौड गरेर आउजाउ गर्दा लेक लाग्ने समस्या बढेको छ,’ उनले,‘पर्यटक ल्याउने र लैजाने गर्ने पर्यटन व्यावसायी सचेत नहुने हो भने यस्ता घटना अझै बढ्ने त्रास छ।’ nagariknews.com

Leave a Reply