म्याग्दीको मालिका गाउँपालिका– ७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले तरकारी, च्याउ र मह उत्पादन गरी आम्दानी लिने गरेका छन् ।

किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पढाइका अतिरिक्त मौसमी तथा बेमौसमी तरकारीखेती र मौरीपालन गर्दै आएका हुन् । शिक्षालयमा बालीविज्ञान विषयमा अध्ययनरत ४० जना विद्यार्थीले तरकारीखेतीका साथै मौरीपालन गरेका छन् । विद्यालय परिसरमा मौरीका छ वटा घार छन् ।

विद्यार्थीले मह उत्पादन प्रक्रिया, महको चाका सङ्कलन, मौरीको घारको रेखदेख र मह निकाल्ने सम्पूर्ण प्रक्रिया सिकेका किसानी प्राविधिक शिक्षालयका प्रधानअध्यापक जङ्गबहादुर गर्बुजाले बताए । वर्षमा दुईपटक मह निकालेर स्थानीयलाई बिक्री गर्ने गरिएको उनले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा छ वटा घारबाट मौरीपालनको अभ्यास सिकेका विद्यार्थीले अहिले आफ्नो घरमासमेत मौरीको घार राख्न थालेका छन् । विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले गरिएको मौरीपालनलाई तोरी फुल्ने समयमा मौरीको चरन क्षेत्र, वर्षाका समयमा स्थानीय प्रजातिका फूलमा चराउन कसरी लैजाने भन्ने अभ्यास विद्यालयमै गराउने गरिएको छ । मौरीपालनसँगै शिक्षालयले विद्यार्थीको प्रत्यक्ष सहभागिता हुने अन्य कृषि कर्ममा लगाउने गरेको छ ।

बालीविज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषय पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको छ । यस शिक्षालयमा विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, विसं २०७२ देखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ ११ जिल्लाका विद्यार्थी अध्ययनरत छन् । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको विद्यालयले जनाएको छ ।

विद्यार्थीले उत्पादन गरेको तरकारी बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत विद्यालयले शैक्षिक भ्रमणसहितका कार्यमा प्रयोग गर्ने गरिएको प्राचार्य गर्बुजाले जानकारी दिए । विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले कृषि उत्पादन गर्न चाहेमा विद्यालयले ऋण सुविधासमेत दिएको उनले बताए ।

विद्यार्थीलाई किसानका खेतबारीमा पुगेर प्रयोगात्मक अभ्यास गराउनका साथै फलफूलखेती, तरकारीखेती, दलहन बाली र रैथाने जातका कृषिउपज उत्पादन गरी बजारमा बिक्री गर्ने गरिएको कृषि प्राविधिक शिक्षालयका संयोजक विष्णु सुवेदीले जानकारी दिए । “विद्यार्थीका लागि नयाँ सिकाइमा केन्द्रित छौँ । यहाँबाट पढेर गएका सबै विद्यार्थी आत्मनिर्भर छन् । लोभलाग्दो कमाइ गरिरहेका छन्,” सुवेदीले भने ।

उनका अनुसार यहाँबाट वार्षिक छ क्विन्टल च्याउ बिक्री हुने गरेको छ । विद्यार्थीले विभिन्न प्रजातिका फलफूल, तरकारीको बेर्ना बेचेर कमाइ गर्ने गरेका छन् । विद्यालयले २० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ ।

पछिल्लो समय विद्यार्थीको उत्पादनले बजार नपाउँदा समस्या भएको शिक्षालयका प्रअ गर्बुजाले बताए । करिब पाँच लाख बराबरको तरकारी, च्याउ र मह उत्पादन गरे पनि यस वर्ष रु दुई लाख ५० हजारको मात्र बिक्री भएको उनको भनाइ छ । रासस

Leave a Reply