पर्वतको जलजला गाउँपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ। सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै गाउँपालिकाले हुक्का हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो ।

गाउँकार्यपालिकाको २१ गतेको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताए। ‘बेनीबजारमा हुक्का प्रतिबन्ध भएपछि सेवनकर्ता यता आउन थालेका थिए, कमसल मदिराको बिक्रीमा पनि कडाई गरिएको छ’ आचार्यले भने ।

कुलतबाट जोगाउन हामीले हुक्का प्रतिबन्ध सहित अनुगमनमा समेत कडाई गरेको गाउँपालिकाले जनाएको छ ।पछिल्लो समय बजार क्षेत्रमा युवायुवती हुक्का सेवनका कुलतमा फस्दै गएका थिए। युवायुवतीलाई कुलतमा लैजान हुक्काले प्रत्यक्ष प्रभाव पारेपछि गाउँपालिकाले नीतिगत निर्णय गरी आवश्यक छलफल र तयारीका साथ हुक्का सेवन र बिक्री वितरणमा निषेध गरिएको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए ।

हुक्का निषेधसँगै  जिल्ला प्रशासन, प्रहरीसहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहितसहितको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।

यसअगाडी म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्का तान्न प्रतिबन्ध लगाएको थियो । नगरपालिकाभित्रका १० वटै वडामा हुक्का सेवन, बिक्रीवितरणमा प्रतिबन्ध लगाइएपछि नगर प्रहरीले अनुगमन गर्दै आएको छ। क्षणिक रमाइलोका लागि हुक्का सेवन गर्ने गरिन्छ। सेवनकर्तामा किशोरीको समेत आकर्षक ह्वात्तै बढेको छ। एक खिली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तान्ने गरिन्छ भने एक सर्को हुक्काको प्रयोग गर्दा दुई सय लिटरसम्म धुवाँ शरीरभित्र पु¥याउने गरिन्छ।

हुक्कामा राखिएको फ्लेबर सुर्तीको चारकोलको धुवाँबाट कार्बन मोनोअक्साइड र पोल्यारोम्याटिक हाइड्रो कार्बोन निस्कन्छ। यो मानव स्वास्थ्यका लागि विष सेवन गरेजस्तै हुन्छ। एक खिली चुरोट पिउन पाँचदेखि १० मिनेट समय लाग्छ भने हुक्का पिउन आधा घण्टाभन्दा बढी समय लाग्छ। हुक्काको पाइप राम्रोसँग सफा नगरेको अवस्थामा विभिन्न प्रकारका सरुवा रोगसमेत लाग्ने खतरा बढी हुन्छ।

Leave a Reply