म्याग्दीको मंगला गाउँपालिकामा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक तथा मंगला गाउँपालिकाको आयोजनामा बावियाचौरस्थित मंगला माविमा आयोजित एक दिने निःशुल्क शिविरमा १७ सयभन्दा बढी बिरामीको चेक जाँच गरिएको थियो ।
शिविरको उद्घाटन गदैं प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दीका दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवालाई मध्यनजर गरी शिविर सञ्चालनको अभियान सुरू भएको बताए ।
उनले मंगला सहित अन्य गाउँपालिकामा समेत स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको रोग पहिचान गरी निशुल्क उपचार गरिने बताए । प्रमुख अतिथि गर्बुजालेनिःशुल्क स्वास्थ्य सेवा प्रदान गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा सुनिलकुमार शर्माको प्रशंसा गरेका थिए ।
त्यस्तै मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले स्वास्थ्य उपचारमा गाउँपालिकाबासीको सहजताका लागि आगामी दिनमा पनि स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । ‘मेरो छोरी चिकित्सक अध्ययन गरेको कलेजसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन्छौ, शिविरमा भेटिएका बिरामीलाई थप उपचारका लागि समेत सहजीकरण गर्नेछौ’ अध्यक्ष रोकाले भने ।
सोही अवसरमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा सुनिलकुमार शर्माले शिविरमा भेटिएका जटिल रोगका बिरामीलाई थप उपचारका लागि बैशाख १० गते काठमाण्डौ अस्पतालमै निशुल्क उपचार गरिने बताए ।उनले शिविरमा भेटिएका सबै प्रकारका रोगीहरुको उपचार हुने बताए ।
शिविरको अध्यक्षता गाउँपालिका अध्यक्ष रोका, स्वागत प्रमुख प्रशासकीय अधिकृत सिवकुमार पौडेल र सञ्चालन स्वास्थ्य संयोजक लेखु रोका मगरले गरेका थिए ।
शिविरमा इसिजी, इको, भिडियो एक्सरे मुटु, मिर्गौला, आँखा, नाककान, घाटी, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, मानसिक रोग लगायतको चेकजाँच भएको थियो । स्वास्थ्य शिविर सञ्चालन गर्दा महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब विपन्न वर्गका नागरिकले बढी लाभ लिएका छन् ।