---Advertisement---

परालको गुन्द्री बुन्ने चलन लोप हुँदै

On: April 9, 2024 11:04 AM
Follow Us:

आधुनिकता र बजारीकरणको प्रभावले घरको आँगनमै तान हालेर परालको गुन्द्री बुन्ने चलन म्याग्दीमा हराउँदै गएको छ ।
घरको आगनमा तान हालेर घाम (पाहार) ताप्दै गुन्द्री बुन्ने र वर्षभरी तिनै परालका गुन्द्री प्रयोग गर्ने चलन अहिले बजार क्षेत्रमा मात्रै होइन ग्रामीण क्षेत्रहरुमा समेत हराउँदै गएको हो ।

“हामीले कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्नका लागि राख्ने गर्दथ्यौँ, हिउँदका दिनमा घाम लाग्ने ठाउँमा तान हालेर घरका महिला सदस्य वा छिमेकीहरु भेला भई गुन्द्री बुन्दै दुख सुखका कुरा गर्ने गर्दथ्यौं” बेनी नगरपालिका २ बगरफाँटकी ७० वर्षिया गोमादेवी उपाध्यायले भन्नुभयो “पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ ।”

न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री प्रयोग भने हिजोआज घट्दै गएको छ । गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग हुने गर्दथे ।बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको हो । गाउँघरमा केहीले मात्र आफूलाई आवश्यक पर्ने गुन्द्री मात्र बुन्दै आएका छन् ।

“पहिला पहिला घरमा आएका पाहुनालाई स्वागत गर्दा ओछ्याउने गाउँले गलैँचा भनेकै गुन्द्री हुन्थ्यो,विवाह, व्रतबन्ध होस् वा अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी मानिन्थ्यो । परालबाट बन्ने र यताउता लैजाँदा हलुका र झन्झट नहुने हुँदा यो अति नै उपयोगी गर्दथ्यो” बगरफाँटकी यामकुमारी शर्माले भन्नुभयो ।

“हाम्रो पालामा त बाबियो काटेर र बाबियो बाटेर तान लगाई गुन्द्री बुन्ने चलन थियो । अहिले त बाबियो पनि मासिँदै गयो। । बाबियो, परालको गुन्द्रीको प्रयोग घट्दै छ,” शर्माले भन्नुभयो “गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन । यसरी चासो नदिने हो भने हाम्रो परम्परा हराउँदै जान्छ । गाउँको भन्दा सहरिया उत्पादनले बढी ठाउँ ओगट्ने हुन्छ । प्लास्टिकको गुन्द्री चिसो हुने र महँगो पनि पर्ने हुँदा यो चलनलाई जोगाउनुपर्छ ।”

गुन्द्री बुन्नका लागि समय लाग्ने हुँदा पछिल्लो पुस्ताले यो चलनलाई छाड्दै गएको मंगला गाउँपालिका २ की सीमा पौडेल बताउनुहुन्छ । समय धेरै लाग्ने र झन्झटिलो मान्ने हुँदा अहिलेका छोरी–बुहारीले यसप्रति चासो नदिएको उहाँको भनाइ छ ।बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले मौलिक सीप,परम्परा र चालचलनसँग गाउँको प्रतिष्ठा गासिने भएकोले यस्ता पुख्यौली चलन र सीपहरुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

स्थानीय सरकारले पनि यस्ता सीप र सीपसँग जोडिएका जनशक्तिलाई आवश्यक सहयोग गर्ने बताउँदै उहाँले पुख्र्यौली सीप संरक्षण र प्रवर्द्धनका निम्ति नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि सीप हस्तान्तरण गर्न जाँगर देखाउनुपर्छ भन्नुभयो ।