सात वर्ष अघिसम्म दुर्गम मानिएको म्याग्दीको रुम गाउँ अहिले पाँच ओटा सडकबाट जोडिएको छ ।पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं २ मा पर्ने यो गाउँमा पछिल्लो सात वर्षको अवधीमा पाँच ओटा सडक पुगेका हुन् ।

बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौं जानुपर्ने वाध्यतामा रहेका यहाँका वासिन्दाहरु अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अस्पतालमा जान पाएका छन् ।

मालिका गाउँपालिका २ रुमका वडाअध्यक्ष उदयकुमार बुढाथोकीका अनुसार म्याग्दी र बागलुङ जिल्लाबाट पाँचओटा सडकले रुम गाउँलाई छोएको छ । यी सबै सडकहरुबाट सवारी साधनहरु संचालन हुने गरेका छन् ।

वडाअध्यक्ष बुढाथोकीका अनुसार मालिका गाउँपालिकाको केन्द्र दरबाङ हुँदै रुम, औल हुँदै रुम, अधिभारा हुँदै रुम, बागलुङको तमान सोले र ताराखोला हुँदै रुम, दरबाङदेखि निस्कोट हुँदै रुम गरी पाँचओटा सडकबाट यहाँका स्थानीयले सुविधा लिन पाएका छन् ।

स्थानीय सरकार, प्रदेश र सङ्घ सरकारबाट बजेट भित्रिन थालेपछि गाउँको विकासको ढोका खुलेको छ । गाउँमा पुग्न दरबाङदेखि मुख्य सडकसँगै शाखा सडकहरुको विस्तार भएको हो । पछिल्लो दुई वर्षमा सडक मर्मतका लागि रु दुई करोड खर्च भएको वडाअध्यक्ष बुढाथोकीले बताउनुभयो ।

सात वर्ष पहिला गाउँमा सडक पुगेको थिएन । २०७३ सालसम्म गाडी भेट्न पैदल हिँडेर दरबाङ बजार झर्नुपर्थ्याे । दैनिक उपभोग्य वस्तुलगायतका सामग्री खच्चडलाई बोकाएर गाउँमा ल्याउनुपर्थ्याे । बिरामीलाई अस्पताल लग्न स्ट्रेचरमा राखेर घण्टौँसम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो ।

सङ्घीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम रुम गाउँको मुहार फेरिएको छ । घर आँगनबाटै रुमवासी मोटर चढेर पालिका केन्द्र दरबाङ र बेनीसम्म पुग्ने सुविधा पाएका छन् । घरघरमा खानेपानीको सुविधा पुग्यो ।

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यो पाँच वर्षको अवधिमा रुमका सबै बस्तीमा सडक पुगेको वडाध्यक्ष बूढाथोकीले बताउनुभयो । “पहिला गाउँमा विकास बजेट नै न्यून आउँथ्यो”, उहाँले भन्नुभयो, “स्थानीय सरकार बनेपछि गाउँको विकासका लागि करोडौँ रकम भित्रिन थाल्यो । गाउँपालिकाका साथै सङ्घ र प्रदेशबाट सडक, शिक्षा र स्वास्थ्यलगायतका पूर्वाधारका क्षेत्रमा राम्रो बजेट आएपछि गाउँमा परिवर्तन आयो ।”

सात वर्षमा दरबाङदेखि रुम गाउँ आउने मुख्य सडकका साथै पाँचओटा अन्य सडक निर्माण भएको उहाँले बताउनुभयो । गाउँका सबै बस्तीमा सडक पहुँच विस्तार भएको छ । वडाध्यक्ष बुढाथोकीले भन्नुभयो, “कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ ।” सडक स्तरोन्नति र सडक पुलको व्यवस्था मिलाउन सके रुम गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।

विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा पनि पाँच वर्षमा राम्रो विकास भएको उहाँले बताउनुभयो । विद्यालयमा भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएका छन् । विभिन्न स्थानमा गरेर पाँचवटा झोलुङ्गे पुल निर्माण भएका छन् । जसले स्थानीयवासीलाई आवतजावतमा सहजता मिलेको छ ।

दरबाङ-अधिभारा हुँदै रुम नौ किलोमिटर सडक खण्डको अधिभारामा पक्की पुल निर्माण भैरहेको छ ।

२०७० सालमा गाउँलेले आआफ्नो जग्गाको लालपुर्जा धितो राखेर सहकारी बाट ऋण लिई गाउँमा सडक पुर्याउने अभियान सुरु गरेका थिए ।

मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि अधिभारा हुँदै रुम गाउँसम्मको सडक सञ्जाल विस्तार गर्ने क्रममा उपभोक्ता समितिले लालबहादुर हर्मेल, चमु पुन, नन्दु पुन र भरत रोका गरी चारजनाको जग्गा धितोमा राखेर दरबाङ बचत तथा ऋण सहकारी संस्थाबाट १० लाख ऋण लिएर सडक विस्तार गरेका थिए ।

विसं २०७० मा अधिभारादेखि रुमका लागि सडक विस्तार गर्न शुरु गरिएको थियो । अधिभारादेखि रुमको वडा कार्यालय र त्यहाँबाट विभिन्न टोलमा समेत गरी करीव ३० किलोमिटर लामो सडक विस्तार कार्यमा हालसम्म करीव पाँच करोड भन्दा बढी लगानी भएको उहाँले बताउनुभयो । तत्कालीन सांसद विकास कोष, जिविस, गाविसलगायतका सरकारी निकायका अतिरिक्त जनसमुदाय र विदेशमा रहेका रुमवासीहरुबाट करीब ७० लाख चन्दा रकम नै जुटाएर सडक निर्माण थालिएको थियो ।

Leave a Reply