म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, पाउद्धारकी २५ बर्षिया मीरा पुन मगर (कमला)हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बन्नुभएको छ ।

नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’अन्तर्गत प्रहरी तालिम पूरा गरि मीरा यही सोमबार प्रहरीमा भर्ना भएकी हुन्। काशी पुन र दिपा बुदुजा पुनकी जेष्ठी सुपुत्री मीरा लामो समयदेखि अभिभावकसँगै हङकङमा बसोबास गर्दै आउनुभएको थियो ।

मीराले हङकङ प्रहरीमा छनौट भएपछिकोमा उत्साहित हुदैं बधाई दिएको म्याग्दी प्रवासी नेपाली संघ मोना हङकङका अध्यक्ष कर्ण पुनमगरले बेनीअनलाइनलाई बताउनुभयो । ‘धेरै प्रतिस्पर्धीबाट छनौट भएर पहिलो महिला प्रहरी हुनुभएको छ, नेपालीको तर्फबाट प्रतिनिधित्व गर्ने म्याग्देली चेलीलाई पेशागत सफलताको शुभकामना दिन चाहन्छु’ अध्यक्ष पुनमगरले भन्नुभयो ।

मिस मगर २०१३ की विजेता समेत रहनुभएकी मीराले यसबेला आफुँ हङकङ प्रहरीमा भर्ना भएर हङकङमा रहेका नेपाली समुदायको सेवा गर्ने बाचा समेत गर्नुभएको थियो । हङकङ प्रहरीमा नेपालीहरू यसअगाडी नै कार्यरत भएपनि महिलामा मीरा पहिलो भएकाले सर्वत्र चर्चा भइरहेको छ ।

हङकङ प्रहरीले अल्पसंख्यक समुदाय लक्षित गरि ‘हिमालय प्रोजेक्ट’ सञ्चालन गर्दै आएको छ । उक्त प्रोजेक्टमा निशुल्क चिनियाँ भाषा कक्षा, फिटनेश कक्षासहित स्थानीय समुदायसँग एकीकरण गर्न सिकान्छ। तालिम पूरा गरेका नेपाली लगायत विभिन्न देशबाट आएका अल्पसंख्यक समुदायका धमाधम प्रहरीमा भर्ना हुन थालेका छन्।

परियोजना हङकङ प्रहरीमा भर्नाका लागि तालिम दिने उदेश्यले चलाइएको हो।करिब ३५ देखि ४० हजारको संख्यामा रहेको हङकङ प्रहरीमा यसअघि नै केही नेपाल पनि कार्यरत छन्।

Leave a Reply