उमेरले ७७ बर्ष पार गर्न लागेका समाजसेवी श्याम कार्कीको नेतृत्वमा अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा २० लाख डलर भन्दा बढी सहयोग (दान) संकलन भयो ।

गत मार्च ३० देखि अप्रिल ६ सम्म आयोजना गरिएको उक्त महायज्ञमा कार्की दिनरात खटिए। महायज्ञमा आउने भक्तजनहरूसँगै रमाए, आफ्नो लक्ष्य अनुसार महायज्ञलाई भब्य र सभ्य बनाए । करिब ४९ बर्षदेखि अमेरिकामा मेडिकल क्षेत्रमा सक्रिय डा. कार्की संयोजक रहेको महायज्ञमा उनले आफ्नो इच्छापत्रमा १० लाख डलर अर्थात नेपाली करिब साढे १३ करोड सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

काठमाण्डौको कुपन्डोल निवासी कार्कीले मन्दिर बनाउन अहिलेसम्म नगद नेपाली २ करोड ८७ लाखभन्दा बढी सहयोग गरिसकेका छन् । करिब ६० हजारभन्दा बढी भक्तजनले दर्शन समेत गरे । श्रीमति इन्दिरा कार्की र उनले अबको १० बर्षभित्र मन्दिरलाई बाँकी सहयोग गर्ने महायज्ञस्थलमै घोषणा गरी स्रोत सुनिश्चितता गरेका थिए।

रोजगारीका लागि फार्मसी सेवाबाट अमेरिकामा प्रवेश गरेका कार्कीले यसअगाडी अमेरिकाको पहिलो पशुपति बुद्ध मन्दिर निर्माणमा संस्थापक अध्यक्षका भूमिका निर्वाह गरेका थिए। मेडिकल पेशासँगै सामाजिक क्षेत्रमा समेत पाँच दशकदेखि सक्रिय रहेका कार्कीको अगुवाईम गैरआवासीय नेपालीमार्फत देवघाटमा बृद्धाआश्रम समेत निर्माण भएको थियो ।

नेपाली समुदायआवद्ध रहेका दर्जनबढी संघसंस्थामा नेतृत्व र प्रतिनिधित्व गर्ने गरेका कार्कीले जिवनको अन्त्यमा आफुँसँग भएको सम्पत्ती नेपाली समुदायको प्रयोग हुने गरी दान गर्ने बताए ।‘अरुको दुःख वा समस्यामा सहयोग गर्नु र समाजमा भएका समस्याको समाधानमा निरन्तर लाग्नेछु’ समाजसेवी कार्कीले भने ।

उनले नेपाली समुदायको प्रतिनिधित्व हुने संघसंस्थामार्फत नेपालीलाई सेवा गर्ने अवसर पाएको बताए । उनले अमेरिकामा हिन्दु मन्दिर, बुद्धको भूमीको प्रचारप्रसार गर्न पाउँदा जिवनमै धेरै आनन्द महसुस भएको बताए ।‘आफ्नो सास रहुन्जेल समाज सेवा लाग्नेछु,जस्तो सुकै कठिन अवस्था आओस् उनी आफ्नो लय र उद्देश्यबाट विचलित हुने छैनन्’ समाजसेवी कार्कीले भने ।

मेरिल्याण्डमा ८ बर्ष आयुक्त,अन्तराष्ट्रिय साहित्य समाजको संस्थापक, एनआरएन आइसीसीका सहसंस्थापक समेत भएका कार्कीले पेशाभन्दा धेरै समय समाजसेवामा खर्चिएका छन् । अमेरिकामा पुगेर आफ्नो लागि भन्दा पनि नेपाली समाज र देशको पहिचान र महिमा जोगाउने अभियानमा सक्रिय हुन पाउनु नै सार्थक जीवन भएको बताउँछन् ।

अमेरिकाको डेमोक्र्याटिक दलमा आवद्ध रहेर कार्कीले एशिया क्षेत्रका समुदायलाई समेत सहयोग गर्ने गरेका छन् ।उनको समाजसेवा, राजनीतिक तथा अन्य सामाजिक गतिविधिहरूमा श्रीमति इन्दिराको साथले बुढेशकालमा समेत थप उर्जा थपिएको छ । ‘समाजका लागि श्रीमानले सधै प्राथमिकतामा राखेर काम गर्नुहुन्छ, निरन्तर समाजसेवामा लागेको देखेर उत्साहित छु’ इन्दिराले भनिन् । उनले जिवनको अन्त्यसम्म पनि श्रीमानको समाजसेवाप्रतिको सक्रियतालाई साथ दिने बताईन् ।

वाल्टिमोरका युवा व्यवसायी म्याग्दीका जगत घिमिरेले समाजसेवी कार्की नेपाली समुदायको नुमना पात्र भएको बताए । ‘हरेक सामाजिक काममा उहाँको सहभागीता हुन्छ, हामीलाई समेत सामाजिक कार्यमा लाग्ने प्रेरणा मिलेको छ’ घिमिरेले भने । उनले हिन्दु र बुद्ध मन्दिर निर्माणका लागि जग्गा ब्यवस्थापन, कानुनी प्रक्रियामा समेत धेरै नै सक्रिय भएकाले महायज्ञमार्फत मन्दिर निर्माणको अभियानमा पुग्न सफल भएको बताए ।

‘नेपाली समाजका लागि कार्की दम्पत्ती उदाहरण हुनुहुन्छ, उहाँहरूबाट नेपाली पहिचान जोगाउने अभियानमा ठूलो धनराशी सहयोग भएको छ’ मोना अन्तराष्ट्रियका निवर्तमान अध्यक्ष अम्मर छन्त्यालले भने । उनले नेपाली समुदायले अमेरिकामा समाजसेवा, धार्मिक प्रर्बधनमार्फत जन्मभूमिको पहिचान स्थापित गर्न सफल भएको छ ।

अमेरिकामा रहेका नेपालीहरुमा आध्यात्मिक भाव विकसित गर्नुका साथै आफ्नो धर्म,संस्कृति र परम्परासँग आफ्ना सन्ततिहरुलाई परिचित गराउने उद्धेश्यले समाजसेवी कार्कीको नेतृत्वमा हुने विभिन्न कार्यक्रममा बिभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुले समेत सहभागिता जानाउने गरेका छन् । कार्कीको नेतृत्वमा सम्पन्न महायज्ञमार्फत १ सय २२ रोपनी क्षेत्रफलमा मन्दिर बन्ने छ ।

Leave a Reply