अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेशमा यू–१३ वर्षमुनिको खुल्ला छनौटमा म्याग्दीबाट ७ जना छनौट भएका छन् । गण्डकी प्रदेशमा सम्पन्न भएको छनौटमा म्याग्दीबाट सुशिल पुन, अभिनाश नेपाली, मेस्सी थजाली, पारस पुन, प्रदिप विक, साजन श्रीपाली र सुनिल दर्जी काठमाण्डौंमा हुने सेन्ट्रल सेलेक्शनका लागि छनौट भएको म्याग्दी फुटबल संघका अध्यक्ष कुमार बानियाँले बताउनुभयो ।

संघका अध्यक्ष बानियाँका अनुसार म्याग्दीबाट गण्डकी प्रदेशमा छनौटका लागि २६ जनालाई पठाइएको थियो । गण्डकी प्रदेशका ११ जिल्लाबाट आएका ५ सय भन्दा बढीमा म्याग्दीका ७ जना छनौट भएको बताउँदै काठमाण्डौमा पनि छनौट भए फुटबल खेलमा म्याग्दीले थप सफलता प्राप्त गर्ने अध्यक्ष बानियाँको भनाई छ ।

एन्फाले एकेडेमी सञ्चालनका लागि यू–१३ वर्षमुनिका बालबालिकाको खुला छनोट खेल सञ्चालन गरिरहेको छ । ०८१ वैशाखदेखि एन्फा टेक्निकल सेन्टरमा एकेडेमी सञ्चालन गर्न लागेको छ । फुटबल खेलको विकास र विस्तार गर्न युवा विकास परियोजनाअन्तर्गत एन्फाले एकेडेमी सञ्चालनमार्फत यू–१३ छात्र र छात्रा खेलाडी छनोट गर्ने छ ।

एकेडेमीका लागि बालक ०६६ पुस १७ देखि ०६८ पुस १६ सम्म जन्मेको हुनुपर्नेछ । बालिकाको हक ०६७ पुस १७ देखि २०६९ पुस १६ सम्मको जन्ममिति हुनुपर्ने एन्फाले जनाएको छ । म्याग्दीबाट छनौट भएका खेलाडी बेनी बोर्डिङ आवासीय मावि, बेनी सामुदायिक मावि, माउण्ट एभरेष्ट आवासीय मावि, केबी एकेडेमी दरबाङ, प्रकाश माविमा अध्ययनरत थिए ।

Leave a Reply