म्याग्दीको बहुप्रतिक्षित बृहत घोप्टेखोला खानेपानी आयोजनाको शुक्रबार ठेक्का आव्हान भएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले योजना कार्यान्वयनका लागि ठेक्का आव्हान गरेको हो । कुल रु. ४८ करोड लागत अनुमान गरिएको आयोजनाका लागि बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाले १०÷१० प्रतिशत र संघीय सरकारले ८० प्रतिशत लागत साझेदारी गरेका छन् ।

गत फागुन महिनामा खानेपानी मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले घोप्टेखोला खानेपानी आयोजनाका लागि रु. ३८ करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो । ठेक्का आव्हान भएपछि बर्षौको प्रयासपछि बृहत घोप्टेखोला खानेपानी आयोजना औपचारिक रुपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताउनुभयो ।

“डिपिआर र बहुबर्षीयका लागि स्रोत सुनिश्चितता नहुँदा रोकिएको बृहत घोप्टेखोला खानेपानी आयोजना अब कार्यान्वयन हुन्छ,” उहाँले भन्नुभयो “बृहत पिप्ले–भगवती खानेपानी आयोजनाका लागि पनि बजेट व्यवस्थापनका लागि पहल भइरहेको छ ।”

बेनी –५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी बृहत घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न सन २०२२ मा सर्वेक्षण भएको थियो । आयोजना मार्फत २ हजार ५५३ घरधुरीमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले जनाएको छ ।

चालु आर्थिक वर्षमा घोप्टेखोला र पिप्ले–भगवति खानेपानी आयोजनाका लागि रु. २÷२ करोड बजेट बिनियोजन भएको थियो । कुल लागत अनुमानको २० प्रतिशत हुने गरि चालु आर्थिक वर्षमा बजेट रकमान्तर भएपछि ठेक्का आव्हान गरिएको हो । ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइपलाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट वितरण पाइपमार्फत पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ । पिप्ले–भगवति खानेपानी योजना निर्माणका लागि रु ३७ करोड ३७ लाख लागत अनुमान गरिएको छ ।

Leave a Reply