पर्यटकीय गाउँ घान्द्रुकमा भएको घोडा दौडको उपाधि देवेन्द्र श्रीपालीले जितेका छन् ।

शुक्रबार भएको ९ किलोमिटर दुरीको दौड २२ मिनेट ३९ सेकेन्डमा पूरा गर्दै उरीका श्रीपालीले उपाधि जितेका हुन् ।

किमरुङ खोलादेखि सुरु भएको दौड घान्द्रुक जीप स्टेशनमा आएर सकिएको थियो ।

श्रीपालीले उपाधिसँगै ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरे ।

घान्द्रुकका कृष्ण थापा र विनोद थापा दाजुभाइ दोस्रो र तेस्रो भए । कृष्णले २२ मिनेट ५० सेकेन्ड र विनोदले २३ मिनेट १९ सेकेन्डमा सवार घोडा दौडाउँदै पूरा गरे ।

उनीहरुले क्रमशः २७ हजार ७७७ र ११ हजार ११ रुपैयाँ हात पारेका छन् । दुवैले अर्कैको घोडा दौडाएका हुन् ।

घान्द्रुक पर्यटन महोत्सवको अवसरमा भएको दौडमा २४ घोडा दौडाइएको थियो ।

विजेता श्रीपालीले ३ वर्षअघि चिनबाट मगाएको ‘टुइन्स’ नामको घोडा पाल्दै आइरहेको छन् ।

उनले म्याग्दी र कास्कीका विभिन्न स्थानमा हुने घोडा दौड प्रतियोगितामा सहभागिता जनाउदै आइरहेका छन् । घोेडा दौड जित्न घोडासँग तालमेल मिल्न अपरिहार्य रहेकोे उनले बताए ।

घान्द्रुक पर्यटन महोत्सवको अवसरमा आयोजित क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विधान स्पोर्टस क्लबले जितेको छ ।

फाइनल खेलमा विधान स्पोर्टस क्लबले अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

विजेता विधान स्पोर्टस क्लबले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ ।

उपविजेता किम्चेले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सले जितेको छ । फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टाइम्सले उपाधि जितेको हो । टाइम्सले आर्मीलाई ५६–४७ अंकले पराजित गर्न सफल भएकोे हो ।

विजेता टाइम्सले १ लाख रुपैयाँ र उपविजेता आर्मीले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिले चैत २७ देखि घान्द्रुक पर्यटन महोत्सव सञ्चालन गरेको थियो ।

शुक्रबार गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले महोत्सवको समापन गरे । सबै मौसममा पर्यटन सम्भव छ भनेर घान्द्रुकलाई चिनाउन महोत्सवको आयोजना गरेको संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।

Leave a Reply