म्याग्दी जिल्लाभित्रका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले बेनी नगरपालिका-८, कालिपुल बसपार्कमा पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ । बेनी नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा वि.सं. २०७५ मा स्थापना गरिएको पर्यटक सूचना केन्द्र कोरोना भाइरस र आन्तरिक ब्यवस्थापनका कारण ३ बर्षदेखि आर्थिक र व्यवस्थापकीय समस्या भएपछि बन्द अवस्थामा रहेको थियो ।

मुस्ताङ जिल्लाको प्रवेशद्वारका रूपमा रहेको कालिपुलमा रहेको केन्द्रको नयाँ बर्ष २०८१ सालको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो ।म्याग्दीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई म्याग्दी जिल्लाका पर्यटकीय, धार्मिकस्थलका बारेमा जानकारी दिने, पर्यटकीय क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क सङ्कलनका साथै म्याग्दीको अर्गानिक उत्पादनको बिक्री वितरणका लागि केन्द्रको सञ्चालन गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

‘सूचना केन्द्रमा म्याग्दीभित्रका सबै प्रकारको सूचनाहरू उपलब्ध गराइने छ,हामीले पर्यटन प्रर्बधनलाई प्राथमिकता दिएका छौ’अध्यक्ष श्रेष्ठले भन्नुभयो ।म्याग्दी जिल्लाका चर्चित पर्यटकीय तथा धार्मिकस्थल बाहेक सम्भावना भएका क्षेत्र, होमस्टे, होटलको विवरण तथा पर्यटकीयस्थलहरूमा जाने पर्यटकलाई सूचना, स्थानीय तहसँग समेत समन्वय गरी काम गर्ने बताउनुभयो ।

म्याग्दीका पर्यटकीय हिसाबले सम्भावना बोकेका धेरै क्षेत्र रहेकाले यहाँ आउने पर्यटकले सहज रुपमा पर्यटकीय क्षेत्रको जानकारी हासिल गर्न पर्यटन सूचना केन्द्रले प्रभावकारी काम गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय नजिक रहेको पर्यटन सूचना केन्द्रमा म्याग्दीका स्थानीय तहको सेक्सन बनाएर पर्यटकीय स्थलको फ्रेमसहित फोटाहरू, ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन, पर्यटकीय क्षेत्रको म्याप, गाइड बुक र ब्रोसर राखिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष तथा पर्यटन सूचना केन्द्रका संयोजक राजेश शाक्यले जानकारी दिनुभयो ।

केन्द्रमा तत्कालिन बेनी आक्रमणको क्रममा खिचिएका तस्वीर सहित समयअनुकुल साम्रागी थपिने संयोजक शाक्यले बताउनुभयो । म्याग्दीमा आउने पर्यटकलाई आवश्यकता अनुसार गाईड समेत गरिने छ ।

तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले २०७५ वैशाख ३१ गते उक्त सूचना केन्द्र उद्घाटन गरेका थिए । पर्यटन सूचना केन्द्र पुनः सञ्चालन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, कुविरकुमार श्रेष्ठ, जिवन विश्वकर्मा, उत्तमकुमार कर्माचार्य, बेलबहादुर कटुवाल, बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने सञ्चालन महासचिव नारायण जिसीले गर्नुभएको थियो ।

Leave a Reply