म्याग्दी । म्याग्दीको बेनी नगरपालिका –६ छापमा सातौँ छाप मेला सुरु भएको छ । नयाँ वर्ष २०८१ को पावन अवसर पारी छाप युवा क्लबको आयोजनामा सुरु गरिएको विविध खेलकुद तथा साँस्कृति कार्यक्रमको शनिवार बेनी नगरपालिका वडा नम्वर ६ का अध्यक्ष कृष्णसिंह बानियाँले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष बानियाँले छाप युवा क्लबले खेलकुद तथा कला संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो । उहाँले क्लबले गरेका सामाजिक गतिविधिहरुको प्रशंसा गर्दै निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।
वडा अध्यक्ष बानियाँले युवाहरु समाज परिवर्तनको मेरुदण्ड भएको बताउँदै कुलत तथा गलत बाटोमा हिडन नहुने विचार व्यक्त गर्नुभयो । उहाँले युवाहरुलाई कुनै न कुनै सिप सिकी व्यवसायिक र उद्यमशिल बन्न पनि प्रेरित गर्नुभयो ।
कार्यक्रमको उद्घाटन खेल स्वरुप जिल्ला प्रहरी कार्यालय म्याग्दी र आयोजक छाप युवा क्लब विच मैत्रिपूर्ण भलिबल खेल आयोजना गरिएको थियो । जसमा जिल्ला प्रहरी कार्यालयले जित हासिल गर्दै लोकल कुखुराको भाले पुरस्कार प्राप्त गरेको छ ।
वैशाख ४ गते सम्म संचालन हुने कार्यक्रममा पुरुष भलिबल, महिला पुरुष लठो, छेलो, अन्धनिशान लगायतका प्रतियोगिताहरु संचालन गरिने क्लब अध्यक्ष मिलन जिसीले जानकारी दिनुभयो ।
आईतवार देखि सुरु हुने पुरुष भलिबल खेलमा १८ टिमको सहभागिता रहेको अध्यक्ष जिसीले बताउनुभयो । अध्यक्ष जिसीका अनुसार साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कार क्रमशः ५१ हजार १५१ र ३० हजार ३३० रुपैयाँ राखिएको छ ।
यसअघि प्रत्येक वर्ष तिहारको अवसरमा आयोजना गरिने कार्यक्रमलाई यसपाली नयाँ वर्षको अवसरमा संचालन गरिएको हो । मेलामा विभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ ।

Leave a Reply