म्याग्दी । पर्वत बेनीमा रहेको नव उत्साही समुहले आयोजना गरेको पाँचौ उत्साही कप ९ ए साइड फुटबल प्रतियोगिताको उपाधि पर्वत बेनीकै विक्कु फ्यामिलीले जितेको छ ।
शनिबार बेनीको खुल्ला मञ्चमा भएको फाईनल खेलमा आयोजक नव उत्साही समुहलाई ० का विरुद्ध १ गोल गर्दै विक्कुले उपाधि चुम्न सफल भएको हो ।
विजेता वन्दै विक्कुले नगद ७० हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेतामा चित्त वुझाएको आयोजक नव उत्साहीले ३५ हजार १११ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी नव उत्साहीका सन्तोष पुन घोषित हुनुभएको छ । त्यस्तै सर्वाधिक गोलकर्ता द मुनसन युथ क्लबका अभिषेक केसी, उत्कृष्ट गोल रक्षक नव उत्साहीका सज्जन वराईली, उत्कृष्ट डिफेन्डर विक्कुका सागर परियार घोषित हुनुभएको छ । उनिहरुलाई नगद सहित ट्रफि प्रदान गरिएको छ । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार भने वान्टेड फ्यामिली कालिपुलले प्राप्त गर्न सफल भएको क्लबका सचिव राजकुमार परियारले जानकारी दिनुभयो ।
नव उत्साही समुहका पूर्व अध्यक्ष मनोहर श्रेष्ठकी ममतामयी माता लक्ष्मी श्रेष्ठको स्मृतिमा आयोजित पाँचौ उत्साही कपमा १२ समुहको सहभागिता रहेको थियो । चैत्र २७ गते संचालन भएको प्रतियोगिताको समापन समारोहका अवसरमा पर्वत बेनीका व्यवसायी तथा समाजसेवीहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको सचिव परियारले बताउनुभयो ।
पुरस्कार वितरण समारोह क्लबका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षता, संस्थापक अध्यक्ष दिलिप वरुवालको प्रमुख आतिथ्यता र सचिव परियारको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply