पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल आजदेखि सञ्चालन भएको छ ।

पर्वत बेनीका व्यवसायी कृष्ण केसीले लिफ्ट सहितको ५ तले ३९ वटा कोठा भएको भवनमा सञ्चालन गर्नुभएको होटलमा एक दिनमा १०२ जना बास बस्न सक्ने क्षमता रहेको छ ।

“मुस्ताङ जाने आउने पाहुनाहरुले बेनीमा बास नपाएर फर्किएको देखेपछि पोखराको व्यवसाय छोडेर पुरख्यौली जग्गामा होटल खोलेको हो,” उहाँले भन्नुभयो “बेनी र आसपासको क्षेत्रमा सबैभन्दा धेरै करिब २०० जिप र बस पार्किङ मिल्ने सुविधा सहित होटल सञ्चालन गर्ने तयारीमा छौ ।”

मुस्ताङ र म्याग्दीका पर्यटकीय स्थलमा आउने पर्यटक, ब्यवसायी, तालिम, सभा, समारोह आयोजकहरुलाई लक्षित गरेर होटलमा लगानी गरेको सञ्चालक केसीले बताउनुभयो । पार्किङ सुविधाको होटल नभएर बेनीका पाहुना अन्यत्र जानुपर्ने समस्याको अन्त्य हुने र बेनीमा पाहुनाको बसाई लम्बाउन ज्ञानगौरी प्यालेस होटलले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

१२ वटा स्ट्यान्डर्ड, २२ वटा डिलक्स, ३ वटा हनिमुन स्विट, २ वटा मिनी स्विट गरि ३९ वटा कोठा भएको होटलमा एक रातमा १०२ जना बास बस्न सक्छन् । १५ वटा कोठामा सावर सहितको सयनकक्ष रहेका छन् । ठूलो संख्यामा आउने पाहुनाहरुका लागि ४०÷४० जना क्षमताको २ वटा कोठाको व्यवस्था गरिएको छ । यो कोठालाई कन्फरेन्स हलका रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

सामान्य देखि स्तरीय पाहुनाको क्षमता र इच्छा अनुसारको कोठा, खानाका परिकारको सुविधा पाउनेछन् । विद्यार्थी, हनिमुन मनाउन आउने देखि खर्चालु किसिमका पाहुनाका लागि फरक फरक किसिमको कोठा बनाइएको छ । शाकाहारी र आफै पकाएर खाने सुविधा पनि छ । वार र रेष्टुरेष्टको पनि सुविधा छ ।

होटलका प्रबन्धक राजिव थापाले सबै किसिमका पाहुनाहरुको लागि खानाका परिकार र कोठा रहेको बताउनुभयो । २५० जना क्षमताको सभाहलमा तालिम, गोष्ठि, बैठक सञ्चालन गर्न सकिन्छ ।

भुई तलामा डाइनिङ हल र भान्छाकोठा बनाइएको छ । छतमा पनि वार रेष्टुरेष्ट चलाउने योजना रहेको सञ्चालक केसीले बताउनुभयो । ऐतिहाँसिक मल्लाजको काखमा रहेको होटलको कोठाबाट म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजार आसपासको दृष्य अवलोकन गर्न सकिन्छ ।

हाल ७ रोपनी क्षेत्रफलमा संरचना बनाइएको छ । २३ रोपनी क्षेत्रफलमा रु. ३० करोडको परियोजना रहेको सञ्चालक केसीले बताउनुभयो । होटल सञ्चालन भएपछि करिब ७०० जना क्षमताको ब्याङकुट, स्विमिङ पुल र चिल्डे«न पार्क पनि बनाउने तयारी गर्नुभएको छ ।

पहिलो चरणमा २५ जनाले रोजगारी पाएका छन् । परियोजना पूर्ण रुपमा सञ्चालन भएमा ५० जना सम्म रोजगारी सिर्जना हुनेछ । होटलका लागि २३ रोपनी जग्गा रहेको छ । अहिले ७ रोपनी मात्र प्रयोगमा आएको छ ।

डाडाबारीमा रहेको घरमा पनि होटलको शाखा सञ्चालन गर्ने योजना रहेको सञ्चालक केसीले बताउनुभयो । बेनीमा पोल्ट्री व्यवसाय भित्र्याउनु भएका केसी परिवार पछिल्लो समय पोखरामा हार्डवयर्स ब्यवसाय गर्नुहुन्छ । पोखराको ब्यवसाय बेचेर छोरालाई पनि जन्मथलोमा शुरु गरेको होटल व्यवसायमा फर्काउन लागेको केसीले बताउनुभयो ।

बेनी आसपासका क्षेत्रमा पछिल्लो समय सुविधा युक्त होटल खुल्ने क्रम बढेको छ । तातोपानीमा दुई वर्षअघि व्यवसायी प्रमोद श्रेष्ठले होटल श्रेष्ठ हट स्पिरिङ सञ्चालन गर्नुभएको थियो । यसैगरी भुरुङ्ग तातोपानीमा अर्का व्यवसायी राजु हमालले सुविधायुक्त होटल नेचुरल स्पिरिङ सञ्चालन गर्नुभएको छ ।

होटल व्यवसायी बाबुराम आचार्यले गलेश्वरमा याक होटल सञ्चालन गर्नुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जिवन विश्वकर्माले बेनीमा डाफे होटल सञ्चालन गर्नुभएको छ ।

सुविधायुक्त होटल खुल्ने क्रमसँगै पाहुनाहरुलाई बेनीमा बास नपाएर व्यक्तिका घर, चौतारी र गाडीभित्रै सुत्नुपर्ने समस्या हटेको छ । सिजनमा पाहुनाको चाप भएपनि बेसिजनमा सुनसान हुदाँ ब्यवसायमा चुनौति देखिएको छ ।

Leave a Reply