कुनै समय खेताला, गोठाला एवं बटुवाले विश्राम लिने गुनिलो थलो थियो चौतारी । भौतिक भारी विसाउने थलो मात्रै होइन मनको अभौतिक भारी (पिर,व्यथा) विसाउने र साटासाट गर्ने माध्यम पनि हो चौतारी ।

‘चौतारीमा मै बसे होला कि, वरको डाली नुगेर छोला कि’, ‘यो मायाले गरेन वास्ता, चौतारीको छेवैमा मै बस्दा’, ‘चौतारीमा वर हैन पीपलु, काँ गएर होला मन शितलु’, ‘अलि यता सर न रेशम, चौतारीको वरपीपल झैँ बसन’,भरिया दाइले विसाउने भारी,सुन मायाँ डाँडैको चौतारी’ जस्ता लोकगुञ्जनले लोकजीवनमा चौतारी मनको बह पोख्ने प्रिय थलो थियो भन्ने कुरा स्पष्ट हुन्छ ।

तर पछिल्लो समय चौतारी लोप हुँदै गइरहेको अवस्थामा म्याग्दीका एक व्यक्तिले आफ्ना स्व. बुबा आमाको स्मृतिमा पर्यटकीय स्थलमा चौतारी निर्माण गरेर नयाँ वर्ष २०८१ लाई सामाजिक सेवामा समर्पित वर्ष बनाउने संकल्प गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका समाजसेवी नारायणबहादुर कार्कीले आफ्ना दिंवगत बुबा आमाको स्मृतिमा पर्यटकीय स्थल कोप्रे झरना नजिक पक्की चौतारी निर्माण गर्नुभएको हो ।

नयाँ वर्ष २०८१ लाई ‘सामाजिक कार्यमा समर्पित वर्ष’ बनाउने उद्धेश्य सहित कार्कीले व्यक्तिगत रुपमा रु ७५ हजार खर्च गरी कोप्रे झरनामा रमाउन आउने पर्यटक र अन्य सर्वसाधारणको सुविधाका लागि चौतारी निर्माण गर्नुभएको हो । कार्कीले स्व.पिता हरिलाल कार्की र माता विष्णुकुमारी कार्कीको स्मृतिमा चार तह भएको सिंडी सहितको पक्की चौतारी निर्माण गर्नुभएको हो ।

सडक विस्तारका कारण पुराना चौतारी,पोखरी,पाटी,पौवा,धर्मशाला आदि नासिदै गएको अवस्थामा पुख्र्यौली सम्पदाहरुको पहिचान जोगाइ राख्न र पर्यटक तथा पदयात्रीहरुलाई सुविधा पुगोस् भन्ने अभिप्रायले चौतारी निर्माण गरेको कार्कीले बताउनुभयो ।

चौतारी निर्माणको सम्पूर्ण कार्य सकेर नयाँ वर्ष २०८१ को पहिलो दिनदेखि प्रयोग गर्न सकिने गरी चौतारी निर्माण गरिएको हो । कार्कीले वर्ष २०८१ लाई सामाजिक कार्यमा समर्पित वर्ष बनाउने लक्ष्य लिएको बताउनुभयो । निजामति सेवाबाट अवकासप्राप्त कार्कीको अगुवाइमा बगरफाँटमा नै रु ३० लाख भन्दा बढीको लागतमा तीन रोपनी क्षेत्रफलको विशाल जब्रो (थुम्को) माथि दुर्गा भगवतीको आकर्षक मन्दिर निर्माण भएको छ ।

निजामति सेवाबाट अवकाश लिए पछि अधिकांश समय समाज सेवामा लगाउँदै आउनुभएका कार्कीले म्याग्दी नदीको बगरफाँट क्षेत्रमा तटबन्ध गरी नदीको कटानबाट वस्तीको संरक्षण गर्ने,गाउँमा सिंचाइ कुलो निर्माण,मर्मतदेखि सडक विस्तार कार्यमा अगुवाइ गर्ने,धार्मिक तथा आध्यात्मिक कार्यहरुको नेतृत्व गर्ने लगाएतका कार्यहरु गर्दै आउनुभएको स्थानीय पदमपाणी शर्माले बताउनुभयो ।

पर्यटकीय क्षेत्रमा निर्माण गरिएको चौतारी यहाँ आउने पर्यटकहरुका लागि निकै उपयोगि बन्ने स्थानीय वासिन्दाहरुले बताएका छन् ।

Leave a Reply