---Advertisement---

नेपाल आइडलमा बेनीका सन्तोष पुनले गाए, ’घोरेपानी डाँडैमा, गुराँस फुल्यो झललल…

On: April 14, 2024 12:56 PM
Follow Us:

कुनै जमानामा मुस्ताङ जाने पर्यटकलाई पदैलमार्गमा चियानास्ता पसल सञ्चालन गर्दा ’घोरेपानी डाँडैमा, गुराँस फुल्यो झललल, आ हाहाहा..लाउने भए लाउहै माया,घर हाम्रो म्याग्दी हजुर’ भन्ने बोलको गीत घन्किँदा धेरैलाई घोरेपानी, पुनहिलका बारेमा जानकारी थिएन ।

चन्द्रकुमार पुर्जा पुनको स्वरश्रीप्रसाद पुर्जा पुनको शब्द, पूर्ण रामजाली पुनको संगीतमा सजिएको यो गीत गुराँसले बनपाखा ढकमक्क हुदाँ अहिले पनि टिकटक, रिल लगायतका सामाजिक सञ्जालमा छ्याप्छ्प्याती भेटिन्छ ।

अहिले गुराँस फुलेर पुनहिल, घोरेपानी मनमोहक बनेको बेलामा नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल’को पाँचौं संस्करणको उत्कृष्ट १५ भित्र प्रतिस्पर्धा गरिरहेका म्याग्दीको बेनी नगरपालिका–८,का सन्तोष पुनले पुनःचर्चामा ल्याएका छन् ।

गएराती उत्कृष्ट १२ का लागि प्रस्तुती दिने क्रममा उनले यो गीतमार्फत स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको ध्यान तानेका छन् ।‘म्याग्दीलाई चिनाउने गीत भएकाले अवसर पाएको बेलामा गाएको छु, धेरैले राम्रो भन्नुभएको छ, अब भोटिङबाट उत्कृष्ट १२भित्र प्रवेश गरेमा अरु गीतहरु पनि गाउनेछु’ गायक पुनले भने ।

उनलाई उत्कृष्ट १२ भित्र पार्न सोमबार दिउँसो १२ बजेसम्म भोटिङ गर्नुपर्छ । भोटिङका लागि मोवाइलको एसएमएसमा १३ लेखेर ३७००० मा पठाउन सकिन्छ ।

सन्तोषले हालसम्म अडिसन सहित ६ पटक दिएको प्रस्तुतीमा निर्णायकको भूमिकामा रहेका न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटाले प्रेरणादायिक जिम्मेबारी सहित गायन क्षेत्रमा प्रचुर सम्भावना भएको भन्दै प्रशंसा गर्ने गरेका छन् । उनले गोल्डेन माइक समेत पाएका छन् ।

क्यान्सर पीडित आमाको उपचार, बुबाले गरेको पसलको जिम्मेबारी तथा गायन क्षेत्रलाई समेत समय दिएको बताउँदै गायन क्षेत्रलाई थप उचाईमा पुर्याउने भन्दै निरन्तर मेहनत गरिरहेका छन् । उनले कोरोनाको लकडाउनको समयमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । हातमा गितारसँगै परिवारको जिम्मेबारीलाई समेत निभाइरहेका पुनको प्रस्तुती दर्शकले समेत मन पराइरहेका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।