---Advertisement---

मुस्ताङमा प्रहरीको सुझावः मुक्तिनाथ जाँदा दौडधुपको यात्रा नगर्नू

By नागरिक
On: April 14, 2024 3:56 PM
Follow Us:

मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर (३८००मि) दर्शन गर्न जाने तीर्थयात्री र घुमघामका लागि पुगेका पर्यटकलाई लेक लाग्ने समस्या बढ्न थालेपछि आयोजना गरिएको स्वास्थ्य शिविरमा एकसाता अवधिमा झन्डै पाँचसय जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

पोखराबाट हतार गरेर मुक्तिनाथ दर्शन गर्न जाँदा प्रहरीलाई लेक लाग्ने जोखिम बढेको भन्दै प्रहरीले स्वास्थ्यशिविर राखेको थियो। प्रहरीका अनुसार लेक लागेर चालु आर्थिक वर्षमा मात्र ११ जनाको ज्यान गइसकेको छ। ती मध्ये अधिकांश भारतीय रहेका छन।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले हतारको यात्राले पर्यटकमा लेक लाग्ने जोखिम बढेपछि स्वास्थ्य शिविर राखेको बताए। उनका अनुसार चैत २५ देखि वैशाख १ गतेसम्म आयोजित शिविरमा ४ सय ८४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। ती मध्ये ३ सय ४३ जना नेपाली र १ सय ४१ जना भारतीय तीर्थयात्री थिए।

‘लेक लागेर चालु आर्थिक वर्षमा मात्र ११ जनाको ज्यान गयो। धार्मिक उद्देश्यले उक्लिएका तीर्थयात्रीको ज्यान जान थालेपछि सचेतना फैलाउनेगरि शिविर आयोजना गरेका हौ,’ उनले भने, ‘त्यसबाहेक तीर्थयात्रीको स्वास्थ्य अवस्थाबारे थाहा पाउन सकियोस भनेर पनि शिविर राखेका थियौं।’ उनका अनुसार गण्डकी प्रदेश प्रहरी अस्पताल र जिप्रका मुस्ताङको आयोजनामा एकसाताका लागि आयोजित शिविरमा पर्यटकको स्वास्थ्य परीक्षण गर्नेगरि अस्पतालबाट दुइजना चिकित्सक पनि मुस्ताङ गएका थिए।

‘यतिबेला आन्तरिक तीर्थयात्री पनि छन। त्यस्तै भारतीयको संख्या पनि उच्च छ,’ डिएसपी पाण्डेले भने, ‘ती कोही पनि पर्यटकको स्वास्थ्यमा जोखिम नआओस भनेर शिविर राखेका हौ।’

स्वास्थ्यमा जटिल अवस्था रहे दौडधुपको यात्रा नगर्न र सचेत हुन आग्रह गरिएको उनले बताए। मुक्तिनाथ जानेहरु अधिकांश पाको उमेरका हुने भएकोले पनि लेक लाग्ने जोखिम रहेको उनले बताए।

उनका अनुसार चिकित्सले शिविरमा पर्यटकको शरिरमा अक्सिजन तह मापन गर्ने, दम, उच्च रक्तचाप, मधुमेह लगाएको अवस्थाबारे बिरामीको परीक्षण गरेका थिए। ‘लेक लाग्ने जोखिम जो कोहीलाई पनि हुनसक्छ। बढी समस्या दीर्घरोगी र वृद्धवृद्धालाई पर्न सक्छ,’ उनले भने।

मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको लेक लागेर ज्यान जान थालेपछि सचेत बनाउनका लागि यो अभियान थालेको उनले बताए। डिएसपी पाण्डेका अनुसार पछिल्लो अढाई वर्ष अवधिमा लेक लागेर मुस्ताङमा मात्र २९ जनाको ज्यान गएको छ। ती मध्ये सबैभन्दा बढी भारतीय २०, नेपाली ७, युक्रेन र थाइल्याण्डका एक–एकजना रहेको उनले बताए।

लेक लाग्ने घटना लगातारजसो घटना हुन थालेपछि प्रहरीले जोमसोम प्रवेशको नाका घाँसा र जोमसोममा पर्यटक प्रहरीमार्फत सचेतनाका कार्यक्रम पनि गर्दै आएको छ। घाँसामा प्रहरी र जोमसोममा पर्यटक प्रहरीले पर्यटक सवार गाडीमै चढेर स्वास्थ्यमा समस्या भए परीक्षण गराएर मात्र मुक्तिनाथ जानु भनेर सल्लाह दिने गरेको पनि उनले बताए।

नागरिक