घना गुराँसे जंगलको बिचमा बेल आकृतिको चेप्टो परेको विशाल चट्टान । उत्तरतर्फ चाँदीझै टल्कने सेता हिमाल । जंगलैभरी ढकमक्क फुलेका लालीगुराँस । पुछारमा पवित्र तीर्थस्थल स्वार्गाश्रम । बिचको समथर भूभागमा आयोजित बेलढुंगा–स्वर्गाश्रम पर्यटन उत्सवमा नयाँ वर्ष २०८१ को पहिलो दिन शनिवार (हिजो) थेगिनसक्नुको भीड थियो ।

म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका– ३ ओखलेको शिरमा छ बेलढुंगा । समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुंगा र स्वर्गाश्रमको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित तीन दिने महोत्सवको अन्तिम दिन शनिवार (हिजो) ३० हजार भन्दा बढी पर्यटक बेलढुंगामा पुगेका आयोजक समितिका संयोजक गोपाल श्रीषले बताए ।

बेलढुंगाको जंगलमा बलेढुंगा सामुदायिक होमस्टे र स्वर्गाश्रम व्यवस्थापन समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त महोत्सवमा मौलिक यानिमाया,सोरठी गीत,म्याराथुन दौड र आमा समूह स्तरीय नृत्य प्रतियोगिताको साथमा कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

गत चैत २९ गतेदेखि सुरुभई शनिवार सम्पन्न भएको उक्त महोत्सव संस्कृतिको संरक्षण र प्रकृतिको प्रवद्र्धन मार्फत पर्यटन भित्राएर ग्रामीण अर्थतन्त्र र जीविकोपार्जनमा सुधार ल्याउने उद्धेश्यले आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

शनिवार म्याग्दी र बागलुङका ३० हजार बढी पर्यटकहरु बेलढुंगामा पुगेका र उनीहरुको मुख्य आकर्षण हिमाल,गुराँस र त्यहाँ निर्माण गरिएका पूर्वाधारहरु रहेका बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदम पुनले जानकारी दिए । गुराँसको जंगल, बेलढुंगाबाट देखिने १३ वटा हिमाल र म्याग्दी,बागलुङ,पर्वत,मुस्ताङ लगाएत जिल्लाका ४१ ओटा भूदृश्य हेर्दै आन्तरिक पर्यटकहरु मख्ख परेका उहाँको भनाइ छ । नयाँ वर्षको पहिलो दिन स्वर्गाश्रमबाट बेलढुंगासम्म कलश यात्रा पनि गरिएको थियो ।

टाढाटाढाबाट बास बस्ने गरी आएका पर्यटकका लागि नजिककै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) बनेपछि खाना र बासको समस्या नहुँदा हाइकिङ गर्दै यहाँ आएका थिए ।बेलढुंगाबाट अन्नपूर्ण र धौलागिरिका १३ हिमशृङ्खला, म्याग्दी नदी, कालीगण्डकीसहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका गाउँ, वनजंगल, जंगली जनावर र पक्षी देख्न सकिन्छ। साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका– ३ का वडाअध्यक्ष पदम पुनले बताए ।

बेलढुंगामा पर्यटकीय पूर्वाधार निर्माणका लागि बेनी नगरपालिका–३ र बागलुङको काँठेखोला गाउँपालिका–३ ओखलेको ४० लाख बढी खर्च भएको वडाअध्यक्ष पुनले जानकारी दिए । सडक निर्माणका लागि प्रदेश सरकारले लगानी गरेको छ ।

अहिले गुलजार बनेको बेलढुंगा एक दशक अघिसम्म गुमनाम थियो । सडकको म्याग्दी र बागलङ दुवैतिरबाट पहुँच, पदमार्ग निर्माण, साइकल लेन, होमस्टे, पार्किङलगायतका पूर्वाधार बनेपछि यहाँ अहिले दैनिक पर्यटक बढेका छन् । आन्तरिक पर्यटक बढेपछि पूर्वाधार निर्माणको होडबाजी चलेको छ । हिउँदमा हिउँ खेल्न र गर्मीमा शीतलको खोजी गर्दै यहाँ आउनेहरुले चहलपहल बढाएको उनको भनाइ छ ।

बेलढुंगा प्राकृतिक सौन्दर्या अवलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान भएको बेलढुंगा घुम्न आउनुभएका बेनीका यामबहादुर खड्काले बताए । चैत, बैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकोले यसको प्रचारप्रसारमा अझै जोड दिनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

चार वर्ष अघिसम्म बेलढुंगाको फेदमा रहेको बेँसी चौतारीदेखि बेलढुंगाको शिरमा पुग्न निकै जोखिम थियो । अक्करे भीरमा बुट्यान र लहरामा झुन्निदै बेलढुंगाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो। तर अहिले सुविधायुक्त सिँढी (पदमार्ग) बनेपछि निकै सहज भएको भकिम्लीका डेगबहादुर घर्तीले जानकारी दिए ।

म्याग्दीको सीमाना तर्फ स्वर्गाश्रमदेखि बेँसी चौतारीसम्म बेनीनगरपालिका–३ को करिब चार लाख र त्यहाँदेखि बेलढुंगासम्म दुवै वडाको दुई/दुईलाखको गरी करिब आठ लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ । ढुंगा विच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुंगा पुग्न सकिन्छ ।

यहाँबाट देखिने चुरेन, गुर्जा, धौलागिरि, मानामाथि, नीलगिरि साउथ, नीलगिरि नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छे, गङ्गापूर्ण, लमजुङ हिमाल, मनास्लुलगायतका हिमाललाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।बेलढुङ्गामा आउने पर्यटकलाई लक्षित गरेर बागलुङको ओखलेमा होमस्टे सञ्चालनमा रहेको छ भने भकिम्लीको मुसुङ र भुकभुकेमा समेत होमस्टे सञ्चालन गरिएको छ ।

भकिम्लीको शिरमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम र बेलढुङ्गाको एकीकृतरुपमा विकास र प्रचारप्रसार र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको वडाअध्यक्ष पुनले बताए ।

‘पूर्वाधारले पर्यटक तानेको छ, यहाँ आएपछि पर्यटक मोहित बनेर फर्कने गरेका छन्, अब पर्यटकलाई यहाँ आएपछि खाना र बसोबासको सहज व्यवस्थापन मिलाउनेतर्फ हाम्रो ध्यान गएको छ, सडकलाई स्तरीकरण गर्ने र होमस्टे सञ्चालन गर्ने योजनालाई हामीले प्राथमिकतामा राखेका छौँ’, उनले भने ।

हिमाल अगाडि पहाडको थुम्कोमा रहेको एक सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको ठाउँकारुपमा परिचित छ । समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित स्वर्गाश्रम प्राकृतिकरुपमा रमणीय र धार्मिक ऐतिहासिक महत्व बोकेको छ । यस क्षेत्रमा पछिल्लो समय प्रदेश र स्थानीय सरकारको सहयोगमा पदमार्ग, घेराबार, आश्रमस्थल मर्मत, भान्साघर निर्माण, प्रवेशद्वार निर्माणले चिटिक्क देखिएको छ ।

आश्रममा १२ वर्षसम्म तपस्या गरी बसेकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट सङ्कलन भएको दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण गरिएको छ ।

Leave a Reply