त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरूले सामान निकासी गर्न बन्द गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मिसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै आइतबारबाट सामान निकासी गर्न बन्द गरेका हुन्।

सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा व्यवसायीहरूले भेला भई नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे (स्क्यानिङ) मिसिनको सञ्चालन गर्दै आइरहेको र डेढ महिना हुँदा पनि बिग्रिएको मेसिन बनाउन नलागेको भन्दै उनीहरुले आफूहरूको काम बन्द गरेको बताए। सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्गो व्यवसायी खेमराज सुवेदीले नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मत सम्भार पनि नगरेको र नयाँ थप्ने कुरामा पनि चासो नदिएको बताए।

उनले सामान जाँचपास गराउनलाई धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन नसकेको बताए। सामान पठाइसकेपछि केही समस्या आए को जिम्मेवारी हुन्छ? भन्दै प्रश्न गरे। उनले सामान निकासीमा विमानस्थलमा पारवहन गोदामको चरम लापरबाही भएको आरोप लगाए। उनले दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको र मेसिन नहुँदा जाँचपास नभएको भन्दै आइतबारबाट पूरै काम ठप्प पारेको बताए।

मेसिन नभएसम्म व्यवसायीहरूले कुनैपनि चुनौती लिएर सामानहरू क्लियरिङ र फर्वाडिङ नगर्ने उनले घोषणा गरे। लिमिटेड मर्मतसम्भारका लागि ३० लाख रुपैयाँ पर्ने र नयाँ किन्न पनि बजेट नरहेको भन्दै भाग्ने काम गरिरहेको उनले बताए। उनले तीन निकायहरू पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन एकले अर्कोलाई आरोप देखाएर बसिरहेको बताए।

Leave a Reply