www.nevseoboi.com.ua

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा अबैध खेलाडीलाई सहभागी गराउने बागलुङ जिल्लाका प्रशिक्षक दिलबहादुर किसान र बागलुङका कार्यालय प्रमुखलाई गण्डकी प्रदेश खेलकुद परिषद्ले कार्वाही गरेको छ ।

गत फागुनको ११ र १२ गते नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोतीमा भएको राष्ट्रपति रनिङ शिल्डमा बागलुङ जिल्लाबाट दुई जना अबैध खेलाडी सहभागी गराएका थिए । अबैध खेलाडी सहभागी गराएको भन्दै म्याग्दी उसुकी प्रशिक्षक सोनिया बरुवालले गण्डकी प्रदेश खेलकुद परिषद्मा उजुरी दिएपछि छानविनको क्रममा अबैध भएको पाइए पछि गण्डकी प्रदेश खेलकुद परिषद्ले उनीहरु दुई जनालाई प्रारम्भीक कार्वाही गरेको जनाएको छ ।

अहिले पहिलो चरणमा प्रशिक्षक किसानलाई पोखरामा १५ दिन हाँजीर गराएर हाल पर्वतमा हाजीर गराएको छ भने कार्यालय प्रमुखलाई म्याग्दीमा पठाएको छ । उनीहरु माथिको छानविन अहिले पनि जारी रहेकोले बाँकी कार्वाही के हुने भन्ने अझै अन्यौल भएतापनि हाल काजमा अन्यत्र जिल्लामा पठाइएको खेलकुद परिषद्ले जनाएको छ ।यही वैशाख ४ देखि ६ गतेसम्म राजधानीमा राष्ट्रियस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदैछ । उसु विधातर्फ एउटा प्रदेशबाट १२ जनाले सहभागिता जनाउने छन् ।

जसमा बाग्लुङबाट विजेता सात, म्याग्दीबाट तीन, कास्कीबाट एक र तनहुँबाट एक जना छनौट भएकोमा बागलुङका दुई जना अबैध खेलाडीको पदक खोसीए पछि उनिहरुका निकटतम रहेका दुई सहित म्याग्दीबाट ५ जना खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्रीले जानकारी दिए ।

म्याग्दीबाट सज्जन किसान, कृष किसान, प्रमिशा बानियाँ, बिशाल बरुवाल र सञ्जीता परियार राष्ट्रिय स्तरको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुँदै छन् । तीन दशक देखि स्थायी प्रशिक्षकले प्रशिक्षण गरी रहेको बागलुङ र स्वंसेवक प्रशिक्षकले प्रशिक्षण गरेको म्याग्दी दुवै जिल्लाबाट ५÷५ जनाले सहभागीता जनाउनु आफैमा सकारात्मक पाटो रहेको उसु संघ म्याग्दीका उपाध्यक्ष सूर्य तिवारीको भनाई छ ।

के थियो त कारण ?

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १८ वर्ष ननाघेका र कक्षा १२ पढ्दै गरेकाले मात्रै भाग लिने पाउने व्यवस्था छ । ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७०’ मा चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्षभन्दा मूनिका बीच मात्र प्रतियोगिता गरिने स्पष्ट उल्लेख छ ।

निर्देशिकाको दफा २ को उपदफा (झ) मा भनिएको छ,‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भन्नाले चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्षभन्दा मूनिका छात्र–छात्राहरुबीच आ–आफ्नो समूहमा हुने प्रतियोगितालाई सम्झनुपर्दछ ।’

तर, उक्त नियमको धज्जी उडाउँदै बागलुङका प्रशिक्षकले स्नातक तह दोश्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई उसु प्रतियोगितामा सहभागी गराएका थिए । अर्को रोचक प्रसङ्ग त के थियो भने, बाग्लुङ नगरस्तरमा अवैध भनेर नखेलाइएका खेलाडीलाई चोर बाटोबाट प्रदेशस्तरमा समेटियो । आठ कक्षामा अध्ययनरत म्याग्दीकी विद्यार्थी सञ्जिता परियार सँग स्नातकमा अध्ययनरत झरना थापालाई भिडाएपछि बाग्लुङका प्रशिक्षकमाथि प्रश्न उठेको थियो ।

बाग्लुङको धौलागिरी बहुमुखी क्याम्पसमा बिएस्सी दोस्रो वर्षमा अध्ययनरत झरना थापा र १२ कक्षा उत्तीर्ण लेलिन रानामगरले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । ‘क्याटागोरी’ भन्दा फरकलाई खेलमा सहभागी गराइएपछि गण्डकी प्रदेश खेलकुद परिषदमा उजुरी परेको थियो ।

म्याग्दीको उसु प्रशिक्षक सोनिया बरुवालले परिषदमा उजुरी दिएकी हुन् । उनले प्रतियोगितास्थलमै उजुरी दिएकी थिइन् तर किसान आफैले छानविन गरेर आफूले गरेको अबैध कामलाई पनि बैध सावित गराए पछि बाध्य भएर बरुवाल प्रदेश खेलकुदमा उजुरी दिन पुगेकी थिइन । उनले ४८ केजी तौल समूहमा सहभागी थापा र रानामगरको उमेर र शैक्षिक योग्यतामाथि छानबिन गर्न माग गर्दै उजुरी गरेकी थिइन् ।

बरुवालको उजुरीमा लेखेकी थिइन–‘उसु विधाको ४८ केजी तौल समूहमा बाग्लुङ जिल्लाबाट सहभागी भएकी छात्रा झरना थापा धौलागिरी बहुमुखी क्याम्पस बिएस्सी दोस्रो वर्षमा अध्ययनरत रहेको सूचना प्राप्त भएकोले उचित छानबिन गरी सत्यतथ्य जानकारीसहित खेल नतिजा संशोधनका लागि साथै उसु खेलकै अन्य विधामा खेलमा सहभागी छात्र लेलिन रानामगर १२ कक्षा उत्तीर्ण भइसकेको कारण नगरपालिकास्तरीय खेल्न नपाएको तर प्रदेशस्तरीय खेलमा सहभागी गराइएको र प्रथम स्थान हासिल गरेका थिए ।

त्यसैले नियमविपरीत भएको सबै विधाको खेल र खेलाडीको परिचयको छानबिन होस् भनि सविनय अनुरोध गर्दछु ।’ प्रतियोगितामा बाग्लुङकै प्रशिक्षक, बाग्लुङकै निर्णयकर्ता राखिएको थियो । म्याग्दीका स्वयंसेवक प्रशिक्षक विकल कँडेलले प्रदेश स्तरीय खेलमा झोलझाल भएको बताउछन् ।

निर्देशिका विपरीतका खेलाडी सहभागी गराइएकाले उक्त खेलमा अबैध खेलाडीले पाएको पदक प्रदेश खेलकुद परिषद्ले खोसेको र म्याग्दीका दुई जना खेलाडीलाई राष्ट्रिय खेलको बन्द प्रशिक्षणमा बोलाएको उनको भनाई छ ।

खेलमा सहभागी विद्यार्थी थापाले आफू बिएस्सी दोस्रो वर्षमा अध्ययनरत रहेको जनआस्था अनलाइन संग स्वीकारेकी थिइन। उनले आफू धौलागिरी बहुमुखी क्याम्पसमा बिएस्सी दोस्रो वर्षमा पढ्ने र बाँकी कुराहरु आफूलाई थाहा नभएको बताएकी थिइन् । उनी अघिल्लो वर्ष पनि अबैध तबरले नै उसु बिधाको खेलमा सहभागी भएको म्याग्दीकी प्रशिक्षक बरुवालको भनाई छ ।

राष्ट्रपति रनिङ शिल्ड सञ्चालन निर्देशिकाको पाँचौं संशोधनको दफा १८ मा खेलकुद प्रतियोगितामा विद्यार्थी सहभागी नहुने अवस्थाबारे उल्लेख छ । उपदफा (ख) मा छर्लङ्ग हुनेगरी लेखिएको छ,‘प्रतियोगिता मापदण्ड विपरीतका खेलाडीले पदक प्राप्त गरेको खण्डमा त्यस्तो पदक खोस्ने र निकटतम् प्रतिस्पर्धी खेलाडीलाई सो पदक प्रदान गरिनेछ । मापदण्डबाहिरका खेलाडी सहभागी गराउने निकायलाई आयोजक समितिले अनुशासनको कारबाही स्वरुप बाँकी सबै इभेन्टमा सहभागी गराउने छैन् । टिम गेमको हकमा पनि सोही नियम लागु हुनेछ ।’

तर निर्देशिकामा लेखिएको भए पनि अबैध खेलाडीको मात्रै पदक खोसेको बाँकी सबै यथावत राखेको जिल्ला उसु संघ म्याग्दीका उपाध्यक्ष सूर्य तिवारीले जानकारी दिए । त्यस्तै, झुठ्ठा विवरण बनाएमा सार्वजनिक न्यायविरुद्धको कसूर आकर्षित हुन्छ । कुनै प्रमाण वा प्रमाणपत्र झुठ्ठा हुन् भन्ने जानीजानी त्यस्तो प्रमाणपत्रको प्रयोग गरेमा सो कार्यलाई कसूर मानिनेछ ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले पदक पाएका खेलाडीको पदक फिर्ता गरीएको र किसानमाथि छानविन थालेको बताएका छन् । त्यस्तै विद्यामन्दीर माध्यमिक विद्यालय बागलुङका प्रधानाध्यापक छविरमण रेग्मीले आफ्नो विद्यालयबाट पासआउट भै सकेका विद्यार्थीहरुलाई के गरेर प्रदेशमा खेल्न लगे आफूलाई जानकारी नभएको बताउँछन् । पहिला नगरस्तरीयमा नाम हालेका रहेछन् त्यहाँ अवैध भनेर खेल्नै नपाएको विद्यार्थीलाई कताबाट प्रदेश लगे आफूलाई थाहा नभएको उनको भनाई छ । बडीगाड गाउँपालिकाको शिक्षा शाखाले पनि आफ्नो पालिकामा उसुका खेलाडी नरहेको जनाएको छ ।

Leave a Reply