म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानद्वारा आयोजित दुई दिवसीय मोना फेस्टिवल नजिकिदैं गर्दा यसको तयारीलाई तिब्र पारिएको छ ।

यसै सन्दर्भमा यहि अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा हुन गईरहेको मोना फेस्टिवलको बिषयलाई ध्यानमा राख्दै आज जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी र इताबासी नगरका मेयर साकामोतो ताकेशी बीच शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताको समन्वय भने मोना फेस्टिवल आयोजक समितिले मिलाएको हो ।

भेटवार्तामा मेयर साकामोतोले नेपालीहरुसंग मिलेर फेस्टिवलको आयोजना गरी इताबासी नगरीमा नेपालीहरुको स्वागत गर्न पाउँदा खुशी लागेको बताए । यसबाट दुईदेशबीचको सम्बन्ध जनस्तरसम्म मजबुत हुने अपेक्षा गरिएको धारणा ब्यक्त गरे ।

एउटै कार्यक्रममार्फत जापान र नेपालको कला, सँस्कृति, खानपान एवं गीत, संगीतको प्रस्तुतीले दुईदेशबीचको साँस्कृतिक सम्बन्धको दायरालाई अझ फराकिलो हुनेमा आफु बिश्वस्त रहेको मेयर साकामोतोले बताए ।

इताबासी सिटीमा २ हजार ८ सय नेपालीहरुको बसोबास रहेको र यो संख्या कुल विदेशीहरुको ८ दशमलव ३ प्रतिशत रहेको उनले जानकारी दिए । मेयर साकामातेतो भने -‘आसन्न फेस्टिवललाई सफलतापूर्वक सम्पन्न गर्न इताबासी नगरपालिका अन्तर्गतका सरोकारवला विभाग तथा संयन्त्रहरुबाट कुनै कमजोरी हुन दिईने छैन, फेस्टिवल नजिकिदैं गर्दा हामी थप उत्साहित भएका छौं ।’

यसैगरी प्रत्युत्तरमा राजदूत डा. सुबेदीले मोना फेस्टिवलको आयोजना गर्ने सन्दर्भमा साथ, सहयोग र सहकार्यका लागि इताबासी नगरपालिका परिवारलाई धन्यबाद ब्यक्त गरे । यसप्रकारका कार्यक्रमबाट नेपाल र जापानबीच रहीआएको असल सम्बन्ध अझ बिस्तार हुनेमा आफु बिश्वस्त रहेको बताए ।

एक फरक प्रसंगमा राजदूत सुबेदीले हालको नेपाली राजदूतावास भवन सेवाग्राहीको चाप बढेसंगै साँगुरो हुन थालेकोले कार्यसम्पादनमा असुबिधा भईरहेको बताउँदै इताबासी सिटीमा उपयुक्त भवन उपलब्ध हुन सके हाल मेगुरोमा रहेको राजदूतावास इताबासीमा सार्न सकिने धारणा ब्यक्त गरे । त्यसका लागि मेयर साकामोतोबाट सहयोगको अपेक्षा गरिएको राजदूत डा. सुबेदीले बताए ।

भेटका अवसरमा राजदूत डा. सुबेदीले अगाडि भने- ‘यस अवसरमा मेयर साकामोतोलाई नेपाल भ्रमणको निम्ता पनि दिन चाहान्छु, संभव भए यसैवर्ष र संभव नभए अर्को वर्षमा नेपाल जानका लागि म हार्दिक निमन्त्रणा गर्दछु ।’ ‘हामी चाहान्छौ यो फेस्टिवल पहिलो र अन्तिम नहोस्’- राजदूत डा. सुबेदीले भने – ‘यसलाई निरन्तरता प्रदान गर्दै हाम्रा सम्बन्धलाई अझ बलियो बनाउँदै निकट भविष्यमा इताबासी सिटी र नेपालको कुनै एक नगरीबीच भगिनी सम्बन्ध जोड्ने तहसम्म पुग्न सकियोस् |’

नेपाली राजदूत डा. सुबेदी र इताबासी नगरप्रमुख साकामोतोबीचको शिष्टाचार भेटका अवसरमा नेपाली प्रतिनिधि मण्डलमा मोना फेस्टिवल आयोजक मुल समारोह समितिका संयोजक ज्ञानेन्द्र केसी, मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष ददिवल खड्का, मोना फेस्टिवल साँस्कृतिक संयोजक समेत रहेका पत्रकार तिलक मल्ल, मोना फेस्टिवल साँस्कृतिक संयोजक (जापान सेक्टर) यरी केसी कार्की, जापानी पत्रकार मुरोहाशी हिरोकाजु रहेका थिए भने जापानी प्रतिनिधि मण्डलमा इताबासीनगरका उपमेयर ओशिना योशीहिको, इताबासी नगरसभा सदस्य (कु गिन) रिमपेइ मानाका, इताबासी नगरका नागरिक तथा साँस्कृतिक मामिला बिभागका महाप्रबन्धक हिराइवा तोशीजी लगायतका जनप्रतिनिधि तथा अधिकारीहरुको सहभागिता रहेको थियो ।

अन्तमा, न्यानो आतिथ्यताका लागि धन्यबाद ज्ञापन गर्दै राजदूत डा. सुबेदीले मेयर साकामोतोलाई मायाको चिनोस्वरुप भादगाउँले टोपी लगाईदिदैं पशुपतिनाथको मन्दिर उपहार प्रदान गरेका थिए भने नगरप्रमुख साकामोतोले पनि राजदूत डा. सुबेदीलाई मायाको चिनो उपहार दिएका थिए

Leave a Reply